पहिरोले १८ घण्टादेखि अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी खुल्यो

पहिरोले कर्णाली राजमार्ग बन्द हुँदा यात्रु र गाडीहरू बीचमै रोकिएका छन्, दुवै दिशामा यात्रा प्रभावित भएको छ।

श्रावण २१, २०८२

तुलाराम पाण्डे

The Karnali highway, which was blocked for 18 hours due to landslides, opened in one direction

कालिकोट — लेदोसहितको पहिरोले मंगलबार दिउँसोदेखि अवरुद्ध कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक खण्डको कालिकोटको गगने खोलाको सडक एकतर्फी रूपमा खुलेको छ। पहिरो पन्छाउन बुधबार बिहान ७ बजेदेखि दुई वटा मेसिन (जेसिबी) लगाएर ११ बजे सडक सञ्चालनमा ल्याइएको हो।

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन गर्न मंगलबार बिहान ७ बजेदेखि दुई वटा मेसिन परिचालन गरेर खुलाइएको राजमार्ग दिउँसो २ बजेदेखि पुनः अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतले बताए। उनले गगने खोलामा आएको लेदो सहितको पहिरो पन्छाएपछि एकतर्फी रूपमा सडक खुलेको जानकारी दिए।

सडक खुलेपछि कर्णाली करिडोर र राजमार्ग हुँदै सुर्खेतबाट माथि आउँदै गरेका र कालिकोट, जुम्ला, मुगु, बाजुरा हुँदै हुम्लाबाट सुर्खेततर्फ आउजाउ गर्न रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन्।

पहिरोको बढी जोखिम रहेको कालिकोट खण्डको हुल्मदै खोला खण्डमा सडक डिभिजन कार्यालय जुम्लाले दुई वटा जेसिबी मेसिन राखेको छ।

The Karnali highway, which was blocked for 18 hours due to landslides, opened in one direction

एक सातादेखि प्रहरीको काम कर्णाली राजमार्गको पहिरो पन्छाउन सूचना आदानप्रदान र सहयोग गर्नमै बितेको डीएसपी रावतले बताए। उनले भने, ‘पहिरो झर्छ, मेसिन पठायो। केही समय खुल्छ, फेरि बन्द हुन्छ। यस्तैमा प्रहरी व्यस्त छ।’

त्यस्तै सोमबार बेलुकी र मंगलबार दिउँसो झरेको कर्णाली राजमार्गको कालिकोट–जुम्ला सडक खण्डमा पर्ने खाँडाचक्र र तिलागुफा नगरपालिकाका विभिन्न ३ ठाउँमा झरेको पहिरो हटाइएको प्रहरीले जनाएको छ।

तुलाराम पाण्डे पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully