कर्णाली करिडोर र राजमार्ग हुँदै कालिकोट, जुम्ला, मुगु, बाजुरा, हुम्ला आउजाउ गर्ने गाडी रोकिएका छन् ।
कालीकोट — लेदोसहितको पहिरोले सोमबार बेलुकी ७:३० देखि अवरुद्ध कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडकखण्डमा पर्ने कालिकोटको गगने खोलाको पहिरो पन्छाउन दुई वटा एक्स्काभेटर लगाइएको छ ।
पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन गर्न मंगलबार बिहान ७ बजेदेखि दुई वटा मेसिन परिचालन गरेर पहिरो हटाउन थालिएको कालिकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतले बताए । 'हिजो दिनभरि पानी पर्यो,' उनले भने, 'सधैं अवरुद्ध हुने गगने खोलामा बेलुकी लेदोसहितको पहिरो गएर सडक अवरुद्ध भयो ।'
उनले कर्णाली करिडोर र राजमार्ग हुँदै कालिकोट, जुम्ला, मुगु, बाजुरा हुँदै हुम्ला आउजाउ गर्ने गाडी रोकिएको बताए । 'पानी परेन भने १/२ घण्टामा सडक खुल्छ,' डीएसपी रावतले भने, 'पानी पर्यो भने गगने खोलामा लेदो सहितको पहिरो बगेको बग्यै हुन्छ ।'
पहिरोले गएराति अवरुद्ध भएको कालिकोटको बिहानी खोला र छेकाको पहिरो भने राति नै हटाइएको प्रहरीले जनाएको छ ।
