कालिकोटका डीएसपी टेकबहादुर रावतले गगने खोलामा आएको पहिरो हटाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको जानकारी दिएका छन्।
कालिकोट — लेदोसहितको पहिरोले सोमबार बेलुकी ७:३० बजेदेखि अवरुद्ध कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडकखण्डको कालिकोटको गगने खोलाको सडक एकतर्फी रुपमा खुलेको छ।
पहिरो पन्छाउन मंगलबार बिहान ७ बजेदेखि दुई वटा मेसिन (जेसिबी) परिचालन गरेर बिहान ९:३० मा सडक सञ्चालनमा ल्याइएको हो।
कालिकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतले गगने खोलामा आएको लेदो सहितको पहिरो पन्छाएपछि एकतर्फी रुपमा सडक सञ्चालनमा आएको जानकारी दिए।
सडक खुलेपछि कर्णाली करिडोर र राजमार्ग हुँदै कालिकोट, जुम्ला, मुगु, बाजुरा हुँदै हुम्ला आउजाउ गर्न रोकिएका गाडी गन्तव्य तर्फ लागेका छन्। सिमसिम पानी परिरहेकोले फेरि पनि पहिरो आउन सक्ने भन्दै सडक डिभिजन कार्यालय जुम्लाले एउटा जेसिबी मेसिन त्यही नजिकै राखेको छ भने अर्को मेसिन हुल्म पठाइएको प्रहरीले जनाएको छ।
त्यस्तै, सोमबार बेलुकी झरेको कर्णाली राजमार्गको कालिकोट–जुम्ला सडकखण्डमा पर्ने खाँडाचक्र–५ बिहानी खोला र वडा नं. ४ मा पर्ने छेकाको पहिरो राति नै हटाइएको प्रहरीले जनाएको छ।
