सात घन्टापछि खुल्यो राप्ती राजमार्ग

राजमार्ग खुलेपनि माथिबाट ढुंगा–माटो खसिरहेकाले आउजाउ गर्दा उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

श्रावण २०, २०८२

विप्लव महर्जन

Rapti Highway was opened after seven hours

सल्यान — अविरल वर्षापछिको पहिरोले मंगलबार बिहानदेखि अवरुद्ध भएको राप्ती राजमार्ग सात घन्टापछि खुलेको छ । वर्षात रोकिएसँगै डोजरले पहिरो हटाएपछि अवरुद्ध राजमार्ग खुलेको हो ।

सडक अवरुद्ध भएपछि रोकिएका दर्जनभन्दा बढी यात्रुवाहक सवारी साधन गन्तव्यतिर लागेका छन् । राजमार्ग खुलेपनि ढुंगामाटो खसिरहेकाले जोखिम भने उत्तिकै रहेको छ । 

कपुरकोट गाउँपालिका–३ चोरखोला आसपासमा ठूलो पहिरो खसेको र वर्षात् भइरहेकाले हटाउन कठिन भएकाले राजमार्ग खुल्न समय लागेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम खत्रीले बताए । 

राप्ती राजमार्ग खुलेपनि माथिबाट ढुंगामाटो खसिरहेकाले उक्त सडक खण्डमा आउजाउ गर्दा उच्च सतर्कता अपनाउन उनले सवारी चालक तथा यात्रुलाई आग्रह गरेका छन् । चोरखोला आसपासमा दैनिकजसो पहिरो खसिरहेकाले रातिको समयमा सकभर यात्रा नगर्न जिल्लावासीलाई सल्लाह दिएका छन् । 

वर्षात हुने बित्तिकै जाने पहिरोले गर्दा सडक बिग्रनुका साथै हिलाम्मे भएकाले गाडीमा आउजाउ गर्दा यात्रुलाई सास्ती भएको र दुर्घटनाको जोखिम समेत बढाएको उनको भनाई छ । 

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully