पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध

सोमबारको पहिरो पन्छाएर सडक खुलाइए पनि मंगलबार पुनः लेदो सहितको पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ।

श्रावण २०, २०८२

तुलाराम पाण्डे

Landslide blocked Karnali highway again

कालिकोट — पहिरोका कारण कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक पुनः अवरुद्ध भएको छ। मंगलबार दिउँसोदेखिको अविरल वर्षाले कालिकोट खण्डअन्तर्गत गगने खोलामा पहिरो गएपछि सडक अवरुद्ध भएको हो।

सोमबार बेलुकी गएको पहिरो मंगलबार बिहान सडक डिभिजन कार्यालय जुम्लाले दुई वटा मेसिन प्रयोग गरेर बिहान ९ बजे सुचारु गरे पनि दिउँसो २ बजेदेखि लेदो सहितको अर्को पहिरो खस्दा पुनः अवरुद्ध भएको जिल्ला प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए ।

उनले भने, ‘हिजो बेलुकी गएको पहिरो बिहान पन्छाएर गाडी सञ्चालन भएका थिए। तर फेरि पहिरो गएर सडक अवरुद्ध भएको छ। पानी लगातार परिरहेकाले पहिरोमा काम गर्न नसकिने अवस्था छ।’

उनका अनुसार सुर्खेततर्फबाट आएका गाडी दैखोला र दैलेखको खिडकीज्युलामा रोकिएका छन् भने जुम्लाबाट आएका मालवाहक गाडी हुल्ममा रोकिएका छन्।

कर्णाली राजमार्गको गगने खोलामा प्रत्येक वर्ष पहिरो जाने गरेको छ। दुई वर्षअघि त्यही ठाउँमा पहिरो रोक्न सडक डिभिजन कार्यालय जुम्लाले ३ करोड रुपैयाँको ठेक्का मार्फत ग्याविन जाली लगाएको थियो। तर, गत वर्ष आएको बाढीले उक्त संरचना पूरै बगाएको छ।

तुलाराम पाण्डे पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully