पहिरोले अवरुद्ध भएको राप्ती राजमार्ग १५ घण्टापछि खुल्यो

राप्ती राजमार्गमा पहिरोले सडक अवरुद्ध हुँदा यात्रुहरू रातभर अलपत्र परेका थिए, बिहान सडक खुलाइयो।

श्रावण १९, २०८२

विप्लव महर्जन

The Rapti Highway, which was blocked by landslides, was opened after 15 hours

सल्यान — अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध भएको राप्ती राजमार्ग १५ घण्टापछि खुलेको छ । सोमबार बिहान चोरखोला आसपासमा खसेको पहिरो सम्बन्धित निकायको डोजरले हटाएपछि राजमार्ग सुचारु भएको हो ।

कपुरकोट गाउँपालिका–३ चोरखोला आसपासमा दुई–तीन स्थानमा पहिरो खसेका कारण राप्ती राजमार्ग आइतबार बेलुकी ६ बजेदेखि अवरुद्ध थियो । राति डोजर सञ्चालन जोखिमपूर्ण भएकाले तत्काल सडक खोल्न नसकिएको र यात्रु तथा सवारीसाधन सडकमै अलपत्र परेका थिए ।

अवरुद्ध सडक खुलेपछि बिहानैदेखि रोकिएका गाडीहरू गन्तव्यतर्फ निस्किएका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम खत्रीले जानकारी दिए । उनका अनुसार चोरखोलामा खसेको पहिरो डोजरले बिहानैदेखि चार घण्टा बढी मेहनत गरेर हटाइएको हो ।

‘रातिको समयमा ढुंगामाटो खसिरहेकाले जोखिमपूर्ण थियो, त्यसैले डोजरले बिहान मात्र काम गर्न थाल्यो,’ निरीक्षक खत्रीले भने ।

राप्ती राजमार्गको चोरखोलामा हल्का वर्षा हुँदा पनि पहिरो जानु र माथिबाट ढुंगा खस्ने गरेकाले यात्रुहरूलाई आवतजावतमा सास्ती भएको उनले बताए । सडक बिग्रिएकाले उच्च सतर्कता अपनाउन व्यवसायीलाई आग्रह गर्दै वर्षा हुने समयमा वैकल्पिक मार्ग प्रयोग गर्न जिल्लावासीलाई सुझाव दिए ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully