सडक अवरुद्ध भएपछि अहिले दर्जन बढी यात्रुबाहक सवारी साधन बाटैमा रोकिएका छन् ।
सल्यान — पहिरोका कारण अवरुद्ध भएको राप्ती राजमार्ग १३ घण्टा बितिसक्दा पनि अहिलेसम्म खुलेको छैन । जेसीबी लगाएर पहिरो पन्छाउने काम भइरहेपनि अहिलेसम्म पहिरो हटाइसकिएको छैन ।
कपुरकोट गाउँपालिका–३ चोरखोला आसपासमा दुई/तीन स्थानमा पहिरो खसेपछि आइतबार बेलुकी ६ बजेदेखि राप्ती राजमार्ग अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएपछि अहिले दर्जन बढी यात्रुबाहक सवारी साधन बाटैमा रोकिएका छन् ।
वर्षात्का कारण वैकल्पिक मार्ग समेत गाडी चल्न नसक्ने भएपछि यात्रुहरु थप समस्यामा परेका छन् । कपुरकोट गाउँपालिका–३ चोरखोला आसपासमा ठूलो पहिरो खसेको र रातीको समयमा पहिरो पन्छाउने काम हुन नसकेपछि राप्ती राजमार्ग लामो समयदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम खत्रीले बताए । उनले सोमबार बिहानदेखि जेसीबी लगाएर पहिरो हटाउने काम भैरहेको जानकारी गराए ।
उनका अनुसार पहिरो हटाउन अझै एक घण्टा बढी समय लाग्ने देखिन्छ । वर्षा भएपछि चोरखोला आसपासमा सधैं पहिरो आउने गर्दा यात्रुलाई सास्ती भएको र पहिरोका कारण सडक बिग्रिँदा यात्रुको ज्यानसमेत जोखिममा पर्दै आएको उनको भनाइ छ ।
पहिरोले सडक बिग्रेका कारण उनले यात्रुहरुलाई उच्च सतर्कता अपनाउँदै यात्रा गर्न आग्रह गरेका छन् ।
