कर्णाली राजमार्गको कालिकोट खण्डमा पहिरो गएपछि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
जुम्ला — कर्णाली राजमार्गको कालिकोट खण्डमा पर्ने गगनेखोलामा लेदोसहितको पहिरो गएपछि सडक अवरुद्ध भएको छ ।
पहिरोले सडक ठप्प भएपछि सयौं सवारीसाधन बाटोमा अलपत्र परेका छन् । जिल्ला प्रशासन कार्यालय कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले दिउँसो साढे ३ बजेदेखि आएको अविरल वर्षाले गगनेखोलामा लेदोसँगै ढुंगाहरु खसेको बताए । उनले भने, ‘अहिले पनि मुसलधारे वर्षा भइरहेको छ । लेदोसहितको ढुंगाहरु निरन्तर बगिरहेका छन् । तत्काल सडक खुलाउन नसकिने अवस्था छ ।’
पहिरो नरोकिएपछि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । पछिल्ला दिनहरुमा निरन्तर पहिरो जाने भएपछि बेलुकी ८ बजेदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको सूचना अधिकारी समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी शर्माले भने, ‘अहिले त झन लेदोसहितको पहिरो झरिरहेको छ ।’
उनले वर्षा रोकिएपछि मंगलबार बिहानदेखि मात्रै सडक खुलाउन सुरु गर्ने तयारी भइरहेको बताए । सडक डिभिजन कार्यालय जुम्लाले वर्षा भइरहेकोले सडक खुलाउन केही समय लाग्ने जनाएको छ । यो कठिन अवस्थामा यात्रा नगर्न समेत यात्रुलाई सुझाव दिइएको छ । सामाजिक सञ्जाल फेसबुकमा सडक डिभिजन कार्यालयले सडकको अवस्था बुझेर मात्र यात्रा तय गर्न आग्रह गरेको छ ।
हरेक वर्ष गगनेखोलामा पहिरो आइरहने भएकोले कर्णाली राजमार्गको यात्रा प्रभावित हुने गरेको छ । 'अहिले सम्म गगनेखोलामा बाहेक अन्यत्र पहिरो गएको खबर प्राप्त भएको छैन', कालिकोट प्रशासनले भनेको छ, ‘कर्णाली राजमार्गमा पहिरो गए/नगएको निरन्तर जानकारी लिइरहेका छौं ।’
