विद्युत सट भएर भएको आगलागीमा घर जलेका चार परिवारलाई चामल, दाल र अन्य राहत सामग्री वितरण गरिएको छ।
कालीकोट — शुभकालिका-६ हाउँडीका आगलागी पीडितलाई आपतकालीन राहत वितरण गरिएको छ।
आगलागीबाट खाद्यान्न, लत्ताकपडा जलेर समस्यामा परेका चार परिवारका १५ जनाका लागि चामल ६ बोरा, दाल १२ केजी, आयोडिन नुन, खाने तेललगायतका राहत सामग्री वितरण गरिएको शुभकालिका-६ का वडाध्यक्ष दीपबहादुर शाहीले बताए।
वडा कार्यालयको समन्वयमा सेभ द चिल्ड्रेन र भिडीसेफको साझेदारीमा संचालित सहयात्रा तेश्रो परियोजनाबाट आगलागी पीडितलाई छाक टार्न मद्दत पुर्याउने उद्देश्यले आपतकालीन खाद्यान्न सहयोग गरिएको भिडीसेफका कार्यक्रम व्यवस्थापक राजेन्द्र सहकारीले बताए। आगलागीमा बढी पीडित बालबालिका छन् । बिहान बेलुकीको छाक टार्न समस्या भएकाले खाद्यान्न वितरण गरिएको उनले बताए। उनका अनुसार ७७ हजार ३ सय ८० रुपैयाँको राहत दिइएको छ।
आगलागी पीडित परिवारका ५ जना बालबालिका छन् । उनीहरूका किताब, स्कूल ड्रेस पनि जलेकाले विद्यालय जान समस्या भएको पीडित अभिभावक खडकबहादुर शाहीले बताए।
गत बिहीबार राति १२ बजे विद्युत लाईन सट भएर एक घरका ४ परिवारको ३० लाख रुपैयाँको धनमाल क्षति भएको थियो। विद्युत लाइन सट भएर कपडामा सल्किएको आगो काठ हुँदै घरमा सल्किँदा चार परिवार बस्ने ९ कोठे घर जलेर नष्ट भएको कालिकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए।
आगलागीबाट स्थानीय रमेश शाही, खड्क बहादुर शाही, वीरेन्द्र शाही, नरेन्द्र शाहीको घर जलेर क्षतिग्रस्त भएको थियो।
