अहिले यात्रुवाहक सवारी साधन सडकमै रोकिएका छन् । पहिरोमा परी एक गाडीमा क्षति पुगेको छ ।
सल्यान — अविरल वर्षासँगै खसेको पहिरोका कारण राप्ती राजमार्ग आइतबार बेलुकी ७ बजेदेखि अवरुद्ध भएको छ ।
जिल्लाको कपुरकोट गाउँपालिका-३ चोरखोला आसपासमा ठूलो पहिरो गएपछि राप्ती राजमार्ग अवरुद्ध भएको हो । अहिले यात्रुवाहक सवारी साधन सडकमै रोकिएका छन् । पहिरोमा परी एक गाडीमा क्षति पुगेको छ । वैकल्पिक मार्गमा समेत गाडी चल्न नसक्ने भएपछि यात्रुहरु थप समस्यामा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेसम खत्रीले रात परिसकेकाले पहिरो हटाउन नसकिएको बताए । ‘पहिरोले दिउँसो चार घन्टा जति राप्ती राजमार्ग अवरुद्ध भएको थियो । पहिरो पन्छाएपछि ४ बजेतिर मात्र गाडी संचालनमा आएको थियो । ५ बजेपछि परेको पानीले फेरि पहिरो झर्दा राजमार्ग अवरुद्ध बनेको छ,’ उनले भने । सडकमा अलपत्र परेका सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न उनले सल्लाह दिएका छन् ।
