लागुऔषध, चोरी र अन्य अपराध नियन्त्रणका लागि वीरेन्द्रनगरका १०५ स्थानमा सीसी क्यामेरा जडान, सुर्खेत प्रहरीले सुरक्षा सुधारमा जोड।
What you should know
सुर्खेत — अपराधका घटना बढेपछि वीरेन्द्रनगर नगरपालिकाले सार्वजनिक स्थानमा सीसी टिभी क्यामेरा जडान गर्ने कार्य सुरु गरेको छ । बढ्दो जनघनत्वसँगै सार्वजनिक अपराध र सवारी दुर्घटनाका घटना बढ्न थालेपछि नगरपालिकाले ३५५ स्थानमा क्यामेरा जडान गर्ने प्रक्रिया अघि बढाएको हो ।
क्यामेरा जडानका लागि वीरेन्द्रनगर नगरपालिका, नेपाल टेलिकमको प्रादेशिक कार्यालय र जिल्ला प्रहरी कार्यालयबीच त्रिपक्षीय सम्झौता भएको छ । पहिलो चरणमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै आगामी ६ महिनाभित्र १०५ स्थानमा सीसी क्यामेरा जडान गरिनेछ ।
दोस्रो चरणमा आवश्यकतानुसार थप २५० स्थानमा क्यामेरा जडान गरिने भएको छ । सम्झौताअनुसार टेलिकमले अप्टिकल फाइबरसहितको सीसी क्यामेरा र वाइफाई हटस्पट जडान गर्नुपर्नेछ । जडान गरिएका क्यामरालाई चौबीसै घण्टा सञ्चालनमा राख्न पनि टेलिकमले सेवा उपलब्ध गराउनेछ ।
नगरपालिकाले चालु आर्थिक वर्षमा नगर क्षेत्रमा सीसी क्यामेरा जडानका लागि ११ लाख ६९ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । नगर प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगर नगरपालिकालाई ‘डिजिटल पालिका’ र ‘सुरक्षित सहर’को रूपमा विकास गर्ने उद्देश्यले क्यामरा जडानको काम सुरु गरिएको बताइन्।
सुर्खेतमा लागुऔषध दुर्व्यसन, चोरी डकैती, झगडा, सडक दुर्घटना तथा अन्य सुरक्षा चुनौतीलाई प्रविधिमार्फत नियन्त्रण गर्न सीसी क्यामेरा जडान गरिएको पनि उनले बताइन् । वीरेन्द्रनगरलाई व्यवस्थित सहर बनाउने योजनाअन्तर्गत विधिको शासनलाई प्रविधिमा जोड्ने प्रयास थालिएको बताइएको छ ।
नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, सुर्खेतका प्रमुख कमल लामिछानेले नगरपालिकाको वडा नं. ६ र ८ मा रहेको घण्टाघर प्राङ्गणमा वाइफाई हटस्पट स्थापना गर्न इन्टरनेट जडान गरिने जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रमुख सुधीरराज शाहीले नगर क्षेत्रमा जडान गरिने सीसी क्यामराले नागरिकलाई सुरक्षा अनुभूति दिलाउनुका साथै समग्र सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने बताए ।
