कालिकोटको शुभ कालिकामा घरमा आगलागी हुँदा ३० लाखको क्षति

कालीकोटको घरमा विद्युत् सर्ट भएर लागेको आगोबाट ३० लाखको सम्पत्ति जलेर नष्ट, १५ जना बिचल्लीमा।

श्रावण १६, २०८२

तुलाराम पाण्डे

30 lakhs loss in a house fire in Shubh Kalika, Kalikot

What you should know

कालिकोट — कालिकोटको शुभ कालिका–६ हाउडीस्थित एक घरमा आगलागी हुँदा करिब ३० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

बिहीबार राति १२ बजे विद्युत् लाइन सर्ट भएर कपडामा लागेको आगो काठ हुँदै घरमा सल्किँदा चार परिवार बस्ने ९ कोठे घर जलेर नष्ट भएको हो ।

स्थानीय रमेश शाही, खडकबहादुर शाही, वीरेन्द्र शाही र नरेन्द्र शाहीको घर जलेर क्षतिग्रस्त भएको कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए । उनका अनुसार मानवीय क्षति भएको छैन । घरभित्र काठ र छानामा पत्थरले छाएको हुँदा आगो फैलिएको र त्यस बेला घरमा रहेका खडकबहादुर शाही, उनकी भाउजू लाटी शाही, छोरा रमेश शाही तथा नरेन्द्र शाहीका परिवार निस्किन सफल भएको डीएसपी रावतले बताए ।

चार परिवारका १५ जना बस्ने साझा घर भए पनि अरू सदस्य पशु चौपाया लिएर लेकको गोठमा गएका थिए ।

पीडितहरूले प्रहरीलाई करिब ३० लाख रुपैयाँ क्षतिको विवरण दिएका छन् । डीएसपी रावतका अनुसार नगद ६ लाख ५० हजार, ९ तोला सुन (१४ लाख), १५ तोला चाँदी (५० हजार), धान, चामल, गहुँ, जौ, मास र सिमी (२ लाख), लत्ता कपडा (३ लाख), भाँडा–भाँडी (३ लाख) र काठ (१ लाख) जलेर नष्ट भएको छ ।

प्रहरी टोली राति नै घटनास्थल पुगे पनि शुक्रबार बिहान मात्र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको सूचना अधिकारी भीरबहादुर सुनारले जानकारी दिए ।

घरमा आगलागी भएपछि चार परिवारका १५ जना बिचल्ली भएको शुभ कालिका–६ का वडाध्यक्ष दीपबहादुर शाहीले बताए । उनले पीडित परिवारलाई आफ्नो घरमा बसालिएको जानकारी दिए ।

तुलाराम पाण्डे पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully