बेलिब्रिज सञ्चालनमा आएसँगै तुइन तर्नुपर्ने बाध्यता अन्त्य भएको स्थानीय सुरेन्द्र शाहीले जानकारी दिए ।
What you should know
वीरेन्द्रनगर — कर्णाली प्रदेशका हिमाली जिल्ला हुम्ला र मुगु अब बेलिब्रिजमार्फत जोडिएका छन्। हुम्लाको चंङ्खेली गाउँपालिका–२ र ४ को सिमानामा पर्ने लोतीखोलामा निर्माण गरिएको बेलिब्रिज सञ्चालनमा आएसँगै दुई जिल्लाबीच सडक सम्पर्क स्थापित भएको हो।
मंगलबार कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले पुलको उद्घाटन गरे।
कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास निर्देशनालय, जिल्लास्थित पूर्वाधार विकास कार्यालयसँग २०८१ साल मंसिर २३ गते कङ्ग्री निर्माण सेवासँग बेलिब्रिज निर्माणका लागि सम्झौता गरिएको थियो। ४ करोड ९८ लाख रुपैयाँमा निर्माण भएको यो बेलिब्रिज ४२ मिटर लम्बाइ, १० मिटर उचाइ र ३.१५ मिटर चौडाइको छ।
बेलिब्रिज सञ्चालनमा आएसँगै तुइन तर्नुपर्ने बाध्यता अन्त्य भएको स्थानीय सुरेन्द्र शाहीले जानकारी दिए । उहाँका अनुसार यसअघि खोलामा रहेको काठको पुल वर्षाको समयमा बगाएपछि स्थानीयहरूलाई तुइन प्रयोग गर्नुपर्ने अवस्था सिर्जना हुन्थ्यो। हिउँद याममा खोलामा पानी घटेपछि खोलामै सवारीसाधन वारपार गर्ने गर्थे भने हल्का सवारीका लागि अस्थायी काठको पुल बनाइन्थ्यो। तर वर्षामा खोलामा पानी बढ्दा सवारी आवागमन ठप्प हुन्थ्यो र नागरिक तुइनमै निर्भर थिए ।
बेलिब्रिज बनेपछि चंङ्खेली गाउँपालिकाको केन्द्र पिप्लाङ आउजाउ गर्न सहज भएको पालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताए । यसअघि तीन वडाका स्थानीय पालिका कार्यालय आउजाउ गर्न तुइनको भरमा निर्भर थिए।
पुल बनेपछि मुगु, जुम्ला लगायतका नागरिकलाई कैलाश मानसरोवर दर्शन गर्न र हुम्लाका नागरिकलाई रारा ताल अवलोकनका लागि बाजुरा भएर जानुपर्ने बाध्यता पनि हटेको छ। अब मुगु हुँदै जुम्लाबाट सुर्खेत र डोल्पा हुँदै देशभर सडक यातायात गर्न सकिने बाटो खुलेको छ।
