‘पन्ध्रौं पटक डोली बोकेर बडिमालिका’

सरकारी टोलीमा एक जना पुजारी, सरकारी प्रतिनिधि, भात पकाउने सहयोगी, दुई जना कार्यालय सहयोगी र प्रहरी हवलदारको नेतृत्वमा दुई जना सिपाही खटिन्छन् ।

श्रावण १४, २०८२

डीबी बुढा

”Badimalika carrying doli for the fifteenth time”

What you should know

जुम्ला — जुम्ला चन्दननाथ नगरपालिका–९ का विष्णुप्रसाद उपाध्याय निरन्तर पन्धौं पटक डोली बोकेर बडिमालिका उक्लिए । ६० वर्षका उनी यतिका धेरै वर्ष सम्म निरन्तर बडिमालिका जाने एकमात्र पुजारी हुन् ।

उनी बडिमालिका नजानुअघि हरेक वर्ष पुजारी फेरिएका हुन्थे । वर्षमा पुजारी खोज्नुपर्ने बाध्यता हुन्थ्यो । जब उनी पुजारी बनेर जुम्लाको सरकारी डोली बोकेर जान थाले, त्यसयता अर्को पुजारी खोजिरहनुपरेको छैन । 

उनले भने, ‘बडिमालिका माइको डोली बोकेर जान पाउनु अहोभाग्य सम्झेको छु । त्यो भन्दा बढी जुम्लाबासीको मनोकामना चढाउन पाइराखेकोमा खुसी छु ।’

बडिमालिका जाँदा बाटोमा निकै कष्ट खेप्नुपर्छ । कैयौं भक्तालुहरु बिरामी पर्ने गर्छन् । सरकारी टोलीमाथि बाधा व्यवधानहरु आइरहन्छन् । ति सबैको सामाना गर्न सक्ने पुजारी हुन विष्णुप्रसाद ।

हरेक वर्ष बडिमालिका जानुभन्दा केही दिनअघि नै प्रशासन कार्यालयले पुजारीका रुपमा जान पत्र थमाइदिन्छ । त्यो पत्र उनले इन्कार गर्दैनन् । 

२०५१ सालमा ३० वर्षको उमेरमा उनी रहरले बडिमालिका पुगेका थिए । उनको रहर देखेर जिल्ला प्रशासन कार्यालयले सरकारी टोलीको भात पकाउन सघाउने जिम्मेवारीमा पठाउन थाल्यो । 

सरकारी टोलीमा एक जना पुजारी, सरकारी प्रतिनिधि, भात पकाउने सहयोगी, दुई जना कार्यालय सहयोगी र प्रहरी हवलदारको नेतृत्वमा दुई जना सिपाही खटिन्छन् । 

२०६० सालमा विष्णुप्रसादको काम देखेर उत्साहित भएका तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णसेन बुढाथोकीले पुजारी बनेर जान प्रस्ताव पठाए । विष्णुप्रसाद पनि पहिलो पटक सरकारी टोलीको पुजारी बनेर जान पाउने भएपछि खुसी भए । 

तत्कालीन माओवादी र राज्य पक्षबीचको लडाइँ चरम अवस्थामा थियो । सरकारी टोली ग्रामीण बस्ती हुँदै बडिमालिका पुर्‍याउन सहज थिएन । माओवादीहरु देवीदेउताको पूजापाठ गर्ने कार्यको विरोधमा थिए । त्यस्तो अवस्थामा राज्य पक्षले खटाएको पुजारीका रुपमा उनी बलिमालिका पुगेर फर्किए । 

२०६८ सालमा ८ वर्षपछि पुजारी बनेर दोस्रो पटक बडिमालिका पुगे । त्यहाँदेखि नै पुजारीका रुपमा हरेक वर्ष उनी नै जान्छन् । हरेक वर्ष यात्रामा बाटोका कारण यात्रीहरुले हैरानी खेप्छन् । ‘कहिले पहिरो, कहिले बाढीको जोखिम । कहिले मदिरा सेवन गरेकाहरुले बाटोमा दु:ख दिन्छन्’ उनी भन्छन्, ‘बाटोमा भोगिने सास्तीले अब सकिँदैन होला जस्तो लाग्छ तर श्रद्धालुको हौसला देख्दा निरन्तर गइहन प्रेरित हुन्छु ।’

२०६९ साल चैत २४ गते जिल्ला प्रशासनको माताहतमा रहने गरेर सरकारी दरबन्दीमा छिरे । अहिले खेलकुद विकास समितिको पुजारी समेत हुन् । जुम्लादेखि बडिमालिका पुगेर फर्किन १५ दिन लाग्छ । 

जिल्ला प्रशासन कार्यालय जुम्ला अगाडि रहेको दरबार मालिका हुँदै चन्दननाथ मन्दिरबाट पूजाको डोली बुझिसकेपछि कसैलाई डोली दिन मिल्दैन् । उसो त दुई काँधमा राखेर बोक्न पनि पाइँदैन् । यति लामो यात्रामा पनि उनका काँधहरु थाक्दैनन् । ‘धेरै वर्ष पुगिसकेँ, अब आउँदैन भन्छु तर मनले मान्दैन,’ उनले भने ।

वर्षको १८ दिन उनले बडिमालिकाका लागि छुट्याउँछन् । बडिमालिकामा जुम्ला र डोटीबाट आउने सरकारी टोलीको उच्च सम्मान हुन्छ । पहिले कुमाउदेखि पूर्व पाल्पा–देखि पश्चिम यो क्षेत्र डोटी राज्य थियो । डोटी राज्यले तिब्बतसँग दुई पटक हार बेहोर्‍यो । त्यसपछि डोटीको गोरखनाथ र जुम्ला चन्दननाथलाई भाकल गरियो ।  चन्दनाथ र गोरखनाथको भाकलपछि  नेपाली सेनाको तोप १० मिटर अघि सरेर युद्धमा विजय प्राप्त भएको इतिहासमा उल्लेख छ ।

अहिले पनि १ सय २१ सेना र ७ वटा सलामी दिएर सरकारी टोली बडिमालिका जान गरेको छ । डोटी जेठो र जुम्ला कान्छो राज्यका रुपमा परिचित छन् । पुजारी उपाध्यायका अनुसार ४१२ अघि वर्षदेखि बडिमालिका यात्रा सुरु भएको थियो । 

‘अहिले पन्ध्रौं पटक बडिमालिका जाँदैछु,’ उपाध्यायले भने, ‘अब २१ वर्षसम्म जाने प्रण गरेको छु ।’ पहिले सुरक्षाकर्मीहरु साथमा जान्थे । जुम्लादेखि मूर्ति र गहनाहरु लैजानु परेको छ । हरेक वर्ष नाग पञ्चमीको दिन बडिमालिका यात्रा सुरु हुन्छ । हरेक दिन दुई घण्टा मात्र हिँडिन्छ । 

सरकारी टोली सिंगो जुम्लाबासीको मनोकामना लिएर जाने भएकोले विशेष पूजापाठ गरिन्छ । डोली बोकेर जाने र आउने बेला निकै तामझामका साथ पठाइन्छ र भित्र्याइने गरिन्छ । 

डीबी बुढा बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully