ठुलीभेरी नदीको भेलमा फसेका चार जनाको उद्धार

प्रशासनले नदी तटीय क्षेत्रमा नजान र त्यस क्षेत्रका वासिन्दालाई सचेत रहन अनुरोध समेत गरेको छ ।

श्रावण १३, २०८२

रामचन्द्र न्यौपाने

Rescue of four people trapped in Thuliveri River

डोल्पा — डोल्पामा ठुलीभेरी नगरपालिका–३ स्थित धुपीचौरमा भेरी नदीको बाढीमा फसेका चार जनाको सकुशल उद्धार गरिएको छ ।

आज बिहान उर्लेर आएको ठुली भेरीले ल्याएका दाउरा संगलन गर्न गएका चार जनाको नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीले उद्धार गरेको हो । 

उद्धार गरिएकाहरुमा त्रिपुरासुन्दरी नगरपालिका–६ पालङ्ग गाउँ बस्ने ३३ वर्षीय ललित बोहोरा, २६ वर्षीय नन्दप्रसाद बोहोरा, वर्ष ३७ का श्यामलाल बोहोरा र ३५ वर्षीय लालकुमार बुढा रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक रुकबहादुर खड्काका अनुसार दाउरा निकाल्न गएका चार जना दुईतिर बाँडिएको भेरीको भेलमा फसेका खबर आएपछि तत्कालै प्रमुख जिल्ला अधिकारी रोम महत सहित टोली घटनास्थल पुगेको थियो ।

उनले भने, ‘नदीको भेल ठूलो भएकाले उद्धा गर्न केही समस्या भयो, उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीको छातीमासमेत केही समस्या देखिएको छ ।’ ठुलीभेरीको सतह बढेको छ । प्रशासनले नदी तटीय क्षेत्रमा नजान र त्यस क्षेत्रका वासिन्दालाई सचेत रहन अनुरोध समेत गरेको छ ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully