जुम्ला प्रशासनको टोलीले दरबारमालिका मन्दिरमा पूजा गरेर बडिमालिका यात्रा सुरु गरेको छ। १८ दिनको पैदल यात्रा पछि टोली फर्किनेछ ।
जुम्ला — पूजाको डोली बोकेर जुम्लाको सरकारी टोली बाजुरास्थित बडिमालिका मन्दिर प्रस्थान गरेको छ । तत्कालीन जुम्ला राज्य र डोटी राज्यले संयुक्त रुपमा पूजा गर्ने चलनअनुसार जुम्लाको सरकारी टोली मंगलबार बडिमालिका मन्दिरतर्फ लागेको हो ।
जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा बिष्णुबहादुर महतको नेतृत्वमा पाँच जनाको सरकारी टोली र अन्य स्थानीय बडिमालिका गएको प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय अगाडिको दरबारमालिका मन्दिरमा पूजा गरेर बडिमालिका यात्रा सुरु भएको हो ।
सेनाले बटुक भैरवनाथ, चन्दननाथ र दरबार मालिकाको सलामी अर्पण गरेको थियो । जिल्ला प्रशासन कार्यालय अगाडिदेखि सुरु भएर जिल्ला प्रहरी कार्यालय जुम्लामा रहेको बडिमालिका माइको सलामीपछि बडिमालिका जाने टोली अघि बढेको हो । सरकारी टोली १८ दिनको पैदल यात्रापछि जुम्ला फर्किनेछ ।
यो पनि पढ्नुहोस् : हिउँ छिचोल्दै सेनाले बडिमालिकामा बनाएको कलात्मक मन्दिर
परम्परादेखि अञ्चलाधीश कार्यालयको मातहतमा चलिआएको पूजाआजा कार्यक्रम अहिले जिल्ला प्रशासन कार्यालयको मातहतमा चलिरहेको छ । बडिमालिका माताको मन्दिरमा पूजाआजा गरे मनको इच्छा पूरा हुने धार्मिक विश्वास छ ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, प्रहरी प्रमुख डीएसपी रविनबाबु रेग्मीलगायत उच्च सैनिक अधिकारी, सरकारी कार्यालयका प्रमुख, राजनीतिक दल र स्थानीय भक्तजनहरुले भव्य रुपमा बिदाइ गरेका थिए ।
अक्षता र ध्वजापतका दिएर जुम्लाबाट टोलीको यात्रा सुरु भएको हो । तत्कालीन बडा हाकिमको नेतृत्वमा बडिमालिका जाने चलन थियो । टोली कृष्ण जन्माष्टमीको अघिल्लो दिनमा फर्किएपछि भोलिपल्ट लाख्य काट्ने चलन छ । स्थानीयले आफ्नो मनको ईच्छा पूरा हुने आशमा ध्वजा, अक्षता नासो पठाएका छन् । जुम्लाबाट लिएको अक्षेता, फूलपाती बडिमालिकामा चढाइन्छ ।
टोलीको पहिलो बास तातेपानीमा हुन्छ । नेपाली सेनाको सिद्धिबक्स गणबाट आएको टोली र जिल्ला प्रहरी कार्यालयबाट आएको टोली र सशस्त्र प्रहरी बलको टोलीले बाजागाजासहित निशान भगवती, चन्दननाथ, भैरवनाथ र बडिमालिका माईलाई ब्यान्ड बाजा, ढोल बजाएर बिगुल फुकेका थिए । बडिमालिका भगवतीका लागि जिल्ला प्रशासन कार्यालय जुम्लाबाट वर्षको एक पटक गहना बनाएर पठाउने गरिन्छ ।
हरेक वर्ष भगवतीको लागि सुनको टिका, चाँदीको बिनायो, चाँदीको मुरुली, चाँदीको काँगियो र चाँदीको छत्र बनाएर पठाइने गरिन्छ । बडिमालिकाको डोली पठाउन गाउँगाउँबाट दर्शनालुहरु खलंगामा आएका थिए । यो सँगै यस वर्षको जात्रा औपचारीक रुपमा सुरु भएको छ । डोली ल्याएर फर्कंदा खस भाषाको केन्द्रविन्दुमा रहेको जुम्ला सिंजाको कनकासुन्दरी मन्दिरमा पूजाआजा गरेर फर्कने परम्परा छ ।
