वीरेन्द्रनगर — लागुऔषध मुद्दामा १५ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् । अदालतबाट १५ वर्ष कैद र पाँच लाख जरिवाना तोकिएका सुर्खेतको वीरेन्द्रनगर नगरपालिका - ६ का लक्ष्मण सापकोटालाई पक्राउ गरिएको छ ।
४२ वर्षीय उनलाई कर्णाली प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले वीरेन्द्रनगरबाट पक्राउ गरेको हो । सापकोटालाई उच्च अदालत तुलसीपुर दाङले ५ असार २०८० मा कैद र जरिवाना फैसला गरेको थियो ।
फैसलालगत्तै फरार सूचीमा रहेका सापकोटालाई प्रहरीको विशेष टोलीले वीरेन्द्रनगरको खजुरा क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।
उनी प्रायः भारतमा बस्ने र कहिले पूर्वी नेपालका विभिन्न जिल्लामा लुक्दै आएको प्रहरी अनुसन्धानबाट देखाएको थियो । प्रहरीको उच्च निगरानीमा पक्राउ गर्न सफल भएको प्रवक्ता बुढथापाले बताए ।
फैसला कार्यान्वयनको लागि पक्राउ परेका सापकोटालाई सुर्खेत जिल्ला अदालतमा पेश गरेर कैद सजाय भुक्तानका लागि कारागारा कार्यालय सुर्खेत पठाइएको छ ।
