राउटेले गरे वृक्षरोपण 

श्रावण ११, २०८२

तृप्ति शाही

Routey did the tree planting

वीरेन्द्रनगर — लोपोन्मुख समुदाय राउटेले वृक्षरोपण गरेका छन् । वनजंगल मासेर काठका सामग्रीहरू बनाउने राउटेले आइतबार सुर्खेतको लेकबेंसी नगरपालिका - ९ को ओखलढुंगाचौरमा वृक्षरोपण गरेका हुन् ।

डिभिजन वन कार्यालय सुर्खेतको समन्वयमा ३४ जना राउटेले वृक्षरोपण गरेका हुन् । 

रूख काट्ने मात्र नभएर संरक्षण गर्ने कार्यमा पनि सहभागिता गराउन राउटेसँगै वृक्षरोपण गरिएको डिभिजनल वन अधिकृत वसन्तबावु श्रेष्ठले बताए । उनका अनुसार राउटेको आगामी पिढीलाई काम लाग्ने उद्देश्यले पनि उनीहरूलाई विभिन्न प्रकारका बोटबिरूवा रोप्न लगाइएको हो । खयर, सिसौ, मसला, अमला, हर्रोवर्रो लगायतका ३ सय बोटबिरूवा रोपिएको छ । 

कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव शेरबहादुर श्रेष्ठ, वन निर्देशक गणेश त्रिपाठी, लेकबेंसीका नगर प्रमुख उमेश पौडेल, डिभिजनल वन अधिकृत वसन्तबावु श्रेष्ठ लगायतको उपस्थितिमा राउटेहरूले वृक्षरोपण गरेका हुन् । 

उनीहरू आजकल लेकबेंसी - १० को झुप्रा खोलामा बसोबास गर्दै आएका छन् । मुलुकको एक मात्र फिरन्ते जातिको पहिचान भएको राउटे समुदाय पछिल्लो समय कर्णालीको सुर्खेत, दैलेख लगायतका जिल्लामा बसोबास गर्छन् । अहिले राउटेको जनसंख्या १ सय ३५ छ ।

Routey did the tree planting

तृप्ति शाही शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully