गुणस्तरहीन गँड्यौला मलको छानबिन गर्न समिति गठन

श्रावण ९, २०८२

डीबी बुढा

Committee formed to investigate substandard vermicompost

जुम्ला — जुम्लाको तातोपानी गाउँपालिकाले बाँडेको गँड्यौला मल गुणस्तरहीन भएकोबारे छानबिन गर्न समिति गठन गरिएको छ । शुक्रबारको गाउँकार्यपालिका बैठकले प्रवक्ता तथा तातोपानी-४ का वडाध्यक्ष अमरबहादुर रोकायाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बनाएको हो ।

पालिकाले जनतासँग उपाध्यक्ष कार्यक्रमअनुसार साउन ६ र ७ गते गँड्यौला मल बाँडेको थियो । दिव्य अर्गानिक फर्टिलाइजर चितवनबाट गँड्यौला मल खरिद गरेर ल्याएको भनिएको मल रातो माटोजस्तो भेटिएपछि किसानले आक्रोश पोखेका थिए । 

समितिलाई ७ दिनभित्र छानबिन प्रतिवेदन पेस गर्नुपर्ने गरी जिम्मेवारी दिइएको छ । गँड्यौला मलको गुणस्तर, खरिद प्रक्रियादेखि किसानको गुनासो समेतको छानबिन गरेर यथार्थ प्रतिवेदन आउने गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले विश्वास व्यक्त गरे । गाउँपालिकाबाट प्राविधिक त्रुटि हुन गएकोमा क्षमा माग्दै अब यस प्रकारको समस्या नदोहोरिने समेत तातोपानी गाउँपालिकाले प्रतिबद्धता जनाएको छ । 

निमित्त प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर चन्दले छानबिन समितिको काम सुरु भइसकेको बताए । गाउँपालिकाले १५ किलोका ३५५ बोरा मल ल्याएर किसानलाई बाँडेको थियो । तीन लाख २५ हजार रुपैयाँसमेत भुक्तानी भइसकेको गाउँपालिकाले जनाएको छ । 

गुणस्तरहित मल दिएर किसानलाई काम गर्न असहज बनाएको आरोप किसानको छ । उनीहरुले किसानलाई दिने मलमा खेलाँची नगर्न समेत चेतावनी दिएका छन् ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully