वीरेन्द्रनगर — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बजेट कार्यान्वयन प्रभावकारी रूपमा गर्न निर्देशन दिएका छन् । अघिल्लो आर्थिक वर्षमा देखिएका कमजोरी र चुनौतीबाट शिक्षा लिँदै चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा उनको जोड थियो ।
भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले शुक्रबार आयोजना गरेको वार्षिक समीक्षा तथा कार्ययोजना तर्जुमा गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले योजना केवल कागजमा सीमित नरहोस् भनेर समयमै र परिणाममुखी ढंगले कार्यान्वयन गर्नु आवश्यक रहेको बताए ।
'हामीले विगतमा के-कस्ता कमजोरी गरेका थियौँ, त्यसको आधारमा आगामी बजेट कार्यान्वयनमा ध्यान दिनु पर्छ,' उनले भने, 'बजेट निर्माणदेखि कार्यान्वयनसम्मको प्रत्येक चरणमा पारदर्शिता, जवाफदेहिता र समन्वय हुनुपर्नेछ ।'
योजनाको कार्यान्वयनमा ढिलाइ, रकम खर्चको असन्तुलन, अनुगमनको कमजोरी र गुणस्तरहीन निर्माण कार्य जस्ता चुनौतीहरूको पुनरावृत्ति नहुने वातावरण बनाउन उनले सचिव र कार्यालय प्रमुखलाई निर्देशन दिए ।
जनताको आवश्यकता बुझेर योजना बनाएमात्र जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्न सकिने मुख्यमन्त्री कँडेलको भनाइ थियो । संघीय, स्थानीय तह, मन्त्रालय, आयोजना कार्यान्वयन एकाइहरूबीचको समन्वय बलियो बनाउँदै अनुगमन प्रणालीलाई अझ प्रभावकारी बनाउने हो भने मात्र सरकारले गरेको विकासको जनताले अनुभूति गर्ने पाउने उनको भनाइ थियो ।
कार्यक्रममा मन्त्री, राज्यमन्त्री, मन्त्रालयका सचिव, विभागीय प्रमुख, जिल्लाका कार्यालय प्रमुखको उपस्थिति थियो । सहभागीहरूले योजना कार्यान्वयनमा देखिएका व्यवहारिक समस्याहरू र सम्भावित समाधानका उपाय प्रस्तुत गरेका थिए ।
