एक वर्षमा सुर्खेतमा ४ सय २३ सवारी दुर्घटना, ३८ जनाको मृत्यु

श्रावण ८, २०८२

तृप्ति शाही

423 vehicle accidents in Surkhet in one year, 38 people died

What you should know

वीरेन्द्रनगर — एक वर्षको अवधिमा सुर्खेत जिल्लामा ४ सय २३ सवारी दुर्घटना भएका छन् । जसमा ३८ जनाको मृत्यु भयो भने ९ सय ३६ जना घाइते भए । मृत्यु हुनेमा २९ जना पुरुष हुन् । १२ जना चालक र १ बालक छन् । ६ महिला र ३ बालिका छन् ।

यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले १ करोड ४५ लाख बराबरको राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा १ करोड ४५ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गरिएको जानकारी दिएको छ । विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने १७ हजार १ सय ५१ वटा सवारीसाधनबाट राजस्व संकलन गरिएको हो । यो आर्थिक वर्षमा गत वर्षभन्दा २९ लाख बढी राजस्व संकलन भएको ट्राफिक प्रहरी प्रमुख वकिल सुनारले जानकारी दिए ।

कारबाहीमा परेका सवारीसाधनमध्ये ६ हजार ७ सय ५० मोटरसाइकल, जिप, कार र भ्यान ३ हजार ७२, ट्रक–टिपर २ हजार ८ सय ६१, अटो–टेम्पो २ हजार २५, बस तथा मिनीबस १ हजार ६ सय १४ र ८ सय २९ ट्र्याक्टर छन् ।

आव २०८०/०८१ मा ट्राफिक नियम उल्लङ्घन गर्ने १५ हजार ८ सय ४२ सवारीसाधनलाई कारबाही गरी १ करोड १५ लाख ९९ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको थियो । त्यो आवमा ६ सय ७३ वटा सवारी दुर्घटना भएका थिए जसमा २८ जनाको मृत्यु भएको थियो । ११ सय ८४ घाइते भएका थिए ।

ट्राफिक प्रहरी प्रमुख सुनारका अनुसार कार्यालयले गरेको सचेतनामूलक कार्यक्रमबाट १ लाख १३ हजार १ सय २ सवारी चालक, सहचालक र पैदल यात्रीहरू लाभान्वित भएका छन् । क्याम्पस, विद्यालय, पैदल यात्री, चालक, सहचालक, सवारीधनी लक्षित २ हजार ५ सय ३४ वटा ट्राफिक सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको थियो । उनले भने, ‘सवारी दुर्घटना न्यूनीकरण उद्देश्यले विभिन्न जनचेतनामूलक कार्यक्रम गरेका हौं । विभिन्न निकायको समन्वयमा ८ सय ८६ रोड फर्निचरहरू राखेका छौं ।’

सवारी दुर्घटना न्यूनीकरण गर्न विभिन्न कमजोर क्षेत्रहरू पहिचान गरी संरचना सुधार गरिएको पनि उनले बताए । साथै, जानकारीमूलक बोर्डहरू पनि राखिएको छ । उनले भने, ‘वीरेन्द्रनगरमा नगरपालिका लगायतका निकायसँगको समन्वयमा पहिलोपटक ट्राफिक लाइट जडान गरेका छौं । सिसी क्यामेरा पनि जडान गरेका छौं ।’

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully