जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

श्रावण ७, २०८२

तृप्ति शाही

Pedestrian dies after being hit by a jeep

वीरेन्द्रनगर — सुर्खेतमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बुधबार बिहान वीरेन्द्रनगर नगरपालिका–११ स्थित धुलियाबिटनजिक  गाडीको ठक्करबाट एक पुरूषको मृत्यु भएको छ भने अर्की एक महिला घाइते भएकी छन् ।

दुर्घटनामा वीरेन्द्रनगर नगरपालिका-११ धुलियाबिटका ३४ वर्षीय प्रेम बुढाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । उपचारका क्रममा बिहान ११ बजेतिर उनको मृत्यु भएको ट्राफिक प्रहरी प्रमुख वकिल सुनारले बताए । उनका अनुसार गुमीबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.०२००१ च.०९४४ नम्बरको बोलेरो गाडीले सडक छेउमा रोकिएको मिनिट्रकबाट घाँस झार्दै गरेका दुई स्थानीयलाई ठक्कर दिएको हो । 

दुर्घटनामा ३२ वर्षीया तिलकुमारी बुढा घाइते भएकी छन् । उनको खुट्टामा चोट लागेको छ र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।चालक सुर्खेतको लेकबेशी नगरपालिका-६ का २१ वर्षीय यामलाल सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully