पचालझरना पर्यटकीय गन्तव्यमा सूचीकृत

श्रावण ७, २०८२

तुलाराम पाण्डे

Listed in Pachaljharna tourist destination

What you should know

कालीकोट — नेपालको सबभन्दा अग्लो कालीकोटको पचालझरना नेपाल सरकारले पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको छ । 

आर्थिक वर्ष ०८२/०८३ का लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालका १०० वटा प्रमुख गन्तव्यमध्ये कालीकोटलाई ६४ औं स्थानमा सूचीकृत गरेको हो । झरनाको प्रचारप्रसारका लागि नेपाल पर्यटन बोर्ड र यूएनडीपीको सहकार्यमा सूचना प्रविधिमैत्री क्यूआर कोड बनाएर पर्यटन बोर्डले गाउँपालिकालाई हस्तान्त्रण गरेको पालिकाका सूचना प्रविधि अधिकृत प्रकाशकुमार कठायतले बताए । पालिकाको उपाध्यक्ष अल्किना बमले क्यूआर कोडसहितको फ्रेम बुझेर ल्याउनु भएको छ । उनले भने, 'यसले आन्तरिक र बाह्य पर्यटकलाई सूचना लिन सहज हुनेछ ।'

कालीकोटको खाँडाचक्र नगरपालिका र पलाता गाउँपालिकाको बीचमा पर्ने पचालझरनामा बग्ने पानी चुलिमालिकाको छेउबाट मूल फुटेर बग्ने गर्छ । कर्णाली करिडोरको लाफागाडबाट ३ घण्टा पैदल र एक घण्टा गाडीमा पुग्न सकिने पचालझरना मनमोहक छ । झरनाको शिरमा डाँफे कालिजलगायतका चराचुरुंगी र घोरल, कस्तुरी, बनेल, हिमाली कालो भालुलगायतका वन्यजन्तु पाइने जनता मावि खार्दुका प्रधानाध्यापक तुलाराज कठायतले बताए । 'झरना मात्र होइन,' उनले भने, 'महत्वपूर्ण वन्यजन्तु पनि पाइने ठाउँ हो । उनले पर्यटकलाई खान, बस्न खार्दु गाउँका ५ घरमा होमस्टे पनि सञ्चालन भएको जानकारी दिए ।

समुद्री सतहबाट ९ सय ७० मिटर उचाइमा रहेको पचालझरना ३८१ मिटर अग्लो छ । त्यसअघि नेपालको सबभन्दा अग्लो भनिँदै आएको तेह्रथुमको ह्यातुङ झरनाको उचाई ३६५ मिटर मात्र छ । एक ठाउँमा थोरै ठोकिएको लम्बाई जोड्दा त पचालझरनाको लम्बाई ४ सय १५ मिटर रहेको प्राविधिक कुलप्रसाद न्यौपानेले बताए ।

०७३ को नयाँ संरचनामा साविकका बदालकोटको सिकु, खयरकोट, धमाली, राम्नाकोट र नानीकोट गाविस मिलाएर यहीको झरनाको नामबाट गाउँ पालिकाको नाम पनि पचालझरना राखिएको छ । गाउँपालिकाले ०७५ वैशाख ३ मा झरनाको प्रचारप्रसार र पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाको केन्द्रमा महोत्सव पनि आयोजना गरेको तत्कालीन गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले बताए ।

पचालझरनासम्म पुग्ने सडक, पैदल मार्ग, सूचना केन्द्रलगायतका पूर्वाधार विकासका लागि १२ करोड खर्च भएको गाउँपालिकाले जनाएको छ । भारतको रूपैडियादेखि तिब्बतको हिल्सा जोड्ने कर्णाली करिडोर खुली सकेकोले मानसरोवर जाने पर्यटकलाई आकर्षित गर्न सके यस क्षेत्रका बासिन्दाको जीवनस्तर फेर्न सकिने गाउँपालिका अध्यक्ष देवजंग शाहीले बताए । यसको प्रचारप्रसार र आवश्यक पूर्वाधार अझै पुग्न सकेको छैन । उनले भने, 'पर्यटन बोर्डको सहकार्यमा काम गर्ने पालिकाको योजना छ ।' उनकाअनुसार व्यवस्थित होटल, पक्की सडक लगायतका पूर्वाधार आवश्यक छ ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully