What you should know
वीरेन्द्रनगर — सुर्खेतमा बर्सेनि डेंगु संक्रमण बढ्दो छ । पछिल्लो पाँच वर्षको अवधिमा जिल्लामा डेंगीको संक्रमण बढिरहेको छ ।
जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा ६ सय ३९ जना डेंगुका बिरामीहरू भेटिएका थिए । यस्तै आर्थिक वर्ष २०७८/०८९ मा १ हजार ३ सय २२ जना, आर्थिक वर्ष २०७९/०८० मा १ हजार ४ सय ८४, आर्थिक वर्ष २०८०/०८१ मा ५ सय ७१ र आर्थिक वर्ष २०८१/०८२ मा १ हजार ८ सय ३७ जनामा डेंगु देखिएको छ ।
आर्थिक वर्ष २०७८/०८९ मा पाँच हजार तीन सय ३० जनामा डेंगु परीक्षण गर्दा एक हजार तीन सय २२ जनामा देखिएको मलेरिया इन्सपेक्टर निरीक्षक उदयबहादुर विसीले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७९/०८० मा ८ हजार ४ सय १६ जनामा डेंगी परीक्षण गरिएको थियो ।
आर्थिक वर्ष २०८०/०८१ मा हजार नौ सय ५२ जनामा डेंगु परीक्षण गरियो भने २०८१/०८२ मा १४ हजार ३७ जनामा परीक्षण गरिएको थियो । जसमा १ हजार ८ सय ३७ जनामा डेंगु देखिएको विसीले बताए ।
सबैभन्दा बढी डेंगुको जोखिममा वीरेन्द्रनगर नगरपालिका रहेको छ । जिल्लाका ९ वटा स्थानीय तहमध्ये वीनपा बढी जोखिममा रहेको जिल्ला जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
गत आवमा डेंगुका कारण ४ जनाको मृत्यु भएको विसीले बताए । विरेन्द्रनगर नगरपालिकाका-२, बराहताल गाउँपालिका १ जना, गुर्भाकोट नगरपालिका १ जनाको मृत्यु भएको थियो ।
डेंगु नियन्त्रणका लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरू गर्दै आएको र परीक्षण पनि बढाउँदै लिएको कार्यालयले जनाएको छ । सुर्खेत जिल्लामा पनि श्रावण महिना–डेंगी सचेतना महिना राष्ट्रिय अभियान घोषणा कार्यक्रम सञ्चालन गरिएको छ ।
यो कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रम गर्ने योजना रहेको मलेरिया निरीक्षक विसीले बताए ।
