सुर्खेतमा लालपुर्जा वितरण तीव्र 

श्रावण ४, २०८२

तृप्ति शाही

Rapid distribution of spare parts in Surkhet

What you should know

वीरेन्द्रनगर — सुर्खेत जिल्लामा लालपुर्जा वितरणको कार्यलाई तीव्रता दिइएको छ । भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिन थालिएको हो ।

भूमि समस्या समाधान आयोग सुर्खेतले एकै दिन शुक्रबार लेकवेशी र भेरीगंगा नगरपालिकाका २ सय २८ जनालाई लालपुर्जा वितरण गरेको छ । अध्यक्ष केशरबहादुर ओलीले जग्गाधनी पुर्जा वितरणलाई तीव्र पारिएको जानकारी दिए । 

भेरीगंगाका २ सय ७ र लेकवेशीका २१ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको उनले बताए । केही दिनअघि पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाका ७ र ८ नम्बर वडाका १ सय ४ जनालाई लालपुर्जा वितरण गरिएको थियो । 

यसअघि रोकिएको पुर्जा वितरणको कार्यलाई अघि बढाइएको छ । उनका अनुसार अन्य पालिकाहरूमा पनि यसबारे काम भइरहेको छ । चौकुने र पञ्चपुरी नगरपालिकामा ४ सय बढीको काम अघि बढेको छ भने बराहाताल गाउँपालिका– ७ मा २ सय बढी स्थानीयलाई लाजपुर्जा वितरण गर्ने गरी काम भइरहेको छ ।

यस्तै, गुर्भाकोट नगरपालिकामा २ सय हाराहारीलाई पुर्जा बाँड्ने योजनासहित काम भएको अध्यक्ष ओलीले जानकारी दिए । उनका अनुसार वीरेन्द्रनगर नगरपालिका– १ र २ नम्बरमा काम अघि बढेको छ । सुर्खेत जिल्लामा ३८ देखी ४० हजार नागरिकलाई लालपुर्जा दिनुपर्ने भएको उनले बताए । 

लाजपुर्जा पाएपछि स्थानीय खुसी भएका छन् । ४८ वर्षदेखि बसिरहेको जमिनको लालपुर्जा बल्ल पाए पनि धेरै खुसी लागेको भेरीगंगा नगरपालिकाको मैनतडाका ८३ वर्षका धनबहादुर सार्कीले बताए ।

‘१७ वर्षको हुँदा परिवारसँगै सल्यानबाट बसाइँ सरेर मैनतडा पुगेका हुँ,’ उनले भने, ‘परिवार बस्दै आएको जमिन आफ्नो नाममा भएपछि सन्तुष्ट भएको छु ।’ बस्दै आएको जमिन आफ्नो हैन भन्ने पिरलोबाट अब छुटकारा मिलेको उनले बताए । वर्षौंदेखि भोगचलन गर्दै आएको जमिन आफ्ना नाममा भएपछि आउने पुस्तालाई सहज हुने विश्वास पनि उनले व्यक्त गरे । 

वर्षौंदेखिको सपना बुढेसकालका पूरा भएको काठेघारीका स्थानीय मोती खत्रीले बताए । ७१ वर्षको उमेरमा जग्गाधनी पुर्जा पाउँदा खुसीको सीमा नै बाँकी नरहेको उनले बताए । 

भूमि समस्या समाधान आयोगका केन्द्रीय उपाध्यक्ष सनदकुमार कार्कीले भूमि आयोग सुर्खेत समितिलाई लालपुर्जा तयार गर्नेदेखि वितरणसम्मको सबै अधिकार दिइएको बताए । देशभर लालपुर्जा वितरण गर्ने कुरामा सुर्खेत जिल्ला देशकै उत्कृष्ट जिल्ला बनेकामा उनले बधाई दिए ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully