छुट्टाछुट्टै घटनामा कालिकोटको शुभकालिकाका दुई युवाको मृत्यु

श्रावण ३, २०८२

तुलाराम पाण्डे

Two youths died in separate incidents from Shubhkalika in Calikot

What you should know

कालिकोट — छुट्टाछुट्टै घटनामा कालिकोटको शुभकालिका गाउँपालिका निवासी दुई युवाको मृत्यु भएको छ।

भैंसीका लागि घाँस काटेर घर फर्किने क्रममा स्थानीय मरिलोपाटा भीरमा चिप्लिएर शुभकालिका–६ हाउडीका ३८ वर्षीय राजाराम आचार्यको मृत्यु भएको छ भने ज्याला मजदुरीका लागि एक वर्षअघि भारत गएका शुभकालिका–५ का २३ वर्षीय मनराज शाहीको पनि मृत्यु भएको छ।

स्थानीय शिक्षक लक्षिराम आचार्यले दिएको जानकारीअनुसार भीरबाट लडेर राजाराम घटनास्थलबाट करिब ३ सय मिटर तल खसेका थिए। उनको शनिबार दाहसंस्कार गरिएको छ।

त्यस्तै, भारतमा ज्याला मजदुरी गरिरहेका मनराजको बिजुलीको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो। घटनाबारे जानकारी दिँदै उनकी फुपु नाता पर्ने सीता शाहीले शव घर ल्याउन पहल भइरहेको बताइन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोविन्दप्रसाद चौधरीका अनुसार कालिकोटमा भीरबाट लडेर हप्तैपिच्छे मृत्यु हुने घटना भइरहेका छन्। उनका अनुसार एक वर्षको अवधिमा भीरबाट लडेर मृत्यु हुनेको संख्या ४३ पुगेको छ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully