What you should know
जुम्ला — जुम्लाको सिंजा गाउँपालिकाले साउन १ गतेको दिनलाई खस दिवसका रुपमा मनाएको छ । गाउँपालिकाको १२ औं गाउँसभाले साउन १ गतेलाई खस दिवसका रुपमा मनाउने निर्णय पारित गरेको थियो ।
सो अवसरमा बिहीबार गाउँपालिकाभित्रका सरकारी तथा गैरसरकारी कार्यालयहरुमा सार्वजनिक बिदा दिइएको छ ।
'खस दिवस खस सभ्यता मान्नेहरुका लागि आफैमा नयाँ वर्ष हो,' गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले भने,‘सिंजावासीले खस दिवसलाई नयाँ वर्षकै रुपमा मनाए । खसहरुका लागि यो खस दिवसको तेस्रो वर्ष हो ।'
खस साम्राज्यमा यो दिनमा रीतिथिती बसाल्ने, रकम कलम असुली गर्ने, पर्यटन प्रवर्द्धन गर्ने, सरसफाइ गरेर मिष्ठान्न भोजन तयार पारेर खाने चलन थियो । सोही दिनको सम्झनामा सिंजा गाउँपालिकाले खस दिवसका रुपमा मनाउँदै आएको छ ।
यो दिवसमा काल, अनिकाल, रोगव्याधी हटेर आयु, आरोग्य र सुबिकाल प्राप्तिको लागि राँको बालेर मनोकामना व्यक्त गर्ने चलन छ । अध्यक्ष धितालले खस दिवसले सिंजाका स्थानीय बासीन्दालाई खस सभ्यताका सन्दर्भमा अध्ययन अनुसन्धान गर्न उत्साहित गरिरहेको प्रतिक्रिया दिए ।
