नि:शुल्क एम्बुलेन्स सेवाले बागचौरका गर्भवतीलाई राहत

श्रावण १, २०८२

विप्लव महर्जन

Free ambulance service brings relief to pregnant women in Baghaur

सल्यान — बागचौर नगरपालिकाले स्वास्थ्य संस्थाभित्र सुत्केरी हुन नसकी रेफर गर्नुपर्ने गर्भवतीलाई यो वर्ष पनि नि:शुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरेको छ ।

आर्थिक अवस्था कमजोर भएका गर्भवतीलाई सुविधा सम्पन्न अस्पतालमा पुग्न सहज होस् र अकालमा ज्यान गुमाउन नपरोस् भनी नगरपालिकाले नि:शुल्क एम्बुलेन्स सेवा दिएको नगर प्रमुख जनकराज गौतमले बताए । 

पालिकाले १४ औं नगरसभाबाट जटिल समस्या भएका गर्भवती तथा सुत्केरीलाई नि:शुल्क एम्बुलेन्स सेवाका लागि बजेटसमेत विनियोजन गरेको छ । पालिकामा एम्बुलेन्स नभएको खण्डमा समस्यामा परेका परिवारले अन्य गाडीको प्रयोग गरी गर्भवतीलाई अस्पताल पुर्‍याए पालिकाले गाडी भाडा उपलब्ध गराउने निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर कठायतले बताए । ‘पालिकाभित्र ६ वडा स्वास्थ्य संस्थामा प्रसूतिगृह छन् । प्रसूति गृहमा सुत्केरी हुन नसकेकालाई जिल्ला अस्पतालमा रिफर गरिन्छ । पालिकाले नि:शुल्क एम्बुलेन्सको व्यवस्था गरेपछि गत वर्ष पालिकाका ६० भन्दा बढीले उक्त सेवा लिएका छन्,’ उनले भने ।

पालिकाले नि:शुल्क एम्बुलेन्स व्यवस्था गरेपछि सबैभन्दा बढी आर्थिक अवस्था कमजोर भएका परिवारका महिलालाई राहत भएको स्वास्थ्य शाखा प्रमुख विनोद डिसी बताउँछन् । यसले मातृमृत्यु पूर्ण रुपमा रोकिएको र नवजात शिशुको मृत्यु समेत घटाएको उनको भनाइ छ । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully