कर्णालीका मन्त्रीहरुसँग मुख्यमन्त्रीको कार्यसम्पादन सम्झौता

श्रावण १, २०८२

तृप्ति शाही

Chief Minister's Performance Agreement with Ministers of Karnali

What you should know

वीरेन्द्रनगर — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा मुख्यमन्त्री कँडेलसँग मन्त्रीहरु तथा प्रमुख सचिवले कार्यसम्पादन सम्झौता गरेका हुन् । प्रदेश सरकार कार्य विभाजन नियमावली २०७४ मा सम्बन्धित मन्त्रालयलाई तोकिएको क्षेत्राधिकारभित्र रही कार्यसम्पादन गर्न तथा चालु आर्थिक वर्षको विनियोजित बजेटलाई नतिजामुखी तथा प्रभावकारी बनाउन आर्थिक वर्ष सुरु भएकै दिन कार्यसम्पादन सम्झौता गरेका हुन् ।

कार्यक्रममा मुख्यमन्त्री कँडेलसँग आर्थिक योजनामन्त्री राजीवविक्रम शाह, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाह, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री शेरबहादुर बुढा, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री सुरेशकुमार अधिकारी र प्रमुख सचिव वीरेन्द्रकुमार यादवले कार्यसम्झौता गरेका थिए ।  

मुख्यमन्त्री कँडेलले माथिल्लो निकायलाई आफ्नो जिम्मेवारी र जवाफदेहितासहित मन्त्रालयका कामकारबाहीलाई थप प्रभावकारी बनाउन कार्यसम्पादन सम्झौता गरिएको बताए । उनले कार्यसम्पादन सम्झौतामा उल्लेख गरेका विषयहरुलाई मन्त्रालयले वार्षिक क्यालेन्डर बनाएर लागू गर्न मन्त्रीहरुलाई निर्देशन दिए । कार्यसम्झौतालाई आधार बनाएर आफ्ना सचिवहरुसँग परिणाम आउने गरी कार्यतालिका सहितको कार्यसम्पादन सम्झौता गर्न मन्त्रीहरूलाई भनेका छन् ।

नागरिकबाट समर्थन पाउने गरी आफ्ना कामकारबाही सम्पन्न गर्न पनि निर्देशन दिए । प्रमुख सचिव यादवले कर्णाली प्रदेश सुशासन ऐन २०७६ को १८ मा व्यवस्था भएबमोजिम कार्यसम्पादन सम्झौता गरिएको जानकारी दिए । 

मन्त्रीहरुले मातहतका सचिव र सचिवले कार्यालय प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता अनिवार्य रुपमा गर्नुपर्नेछ ।

तृप्ति शाही शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully