भीर फोड्न १० वर्ष श्रमदान, ताम्रपत्रमा राखियो श्रमिकका नाम

१० वर्षसम्म गरिएको श्रमदानमा १२ लाख ७ हजार श्रमिक सहभागी थिए, यही कुलोबाट अहिले झन्डै ४ सय किसानले सिँचाइ सुविधा पाइरहेका छन्

श्रावण १, २०८२

डीबी बुढा

10 years of labor for Bhir blast, the names of the workers were placed on the copper plate

जुम्ला — जुम्लाको तिला गाउँपालिका-४ सापुल्ली गाउँका वीरबहादुर सिंह उमेरले ७५ पुगे । जोसजाँगर भने तन्नेरीको जस्तै छ । समाजका कुनै सामूहिक काम गर्नुपर्दा उनी अग्रसर भइहाल्छन् । हरेकजसो विकास निर्माणका कार्यमा चासो राख्ने उनी सरकारी बजेटको भरमा भन्दा पनि श्रमदानमा बढी विश्वास गर्छन् ।

तत्कालीन कुडारी गाउँविकास समितिमा १९६२ सालदेखि सुरु भएको 'भण्डारी-बुङ्गार-झारखेत सिँचाइ कुलो' उनकै नेतृत्वमा सम्भव भयो । त्यो कुलो १९६२ सालमा दाङबाट आएका खन्याल समुदायले खनेका थिए । उनीहरुले बुङ्गारको भीरसम्म कुलो खने । कडा चट्टाने भीर भएकाले त्यसपछि उनीहरुले सकेनन् । त्यो कुलोको काम झन्डै एक सय वर्ष रोकियो ।

नजिकैबाट बडेमानको भेरीखोला बगिरहेको हुन्थ्यो । आसपासका खेत पानी नपाएर सुकिरहेका हुन्थे । यो देख्दा वीरबहादुरको मन कटक्क खाइन्थ्यो । 

२०५० सालतिरको कुरा हो । तत्कालीन गाविस अध्यक्षमा चक्रबहादुर शाही चुनिए । उनले वीरबहादुरको नेतृत्वमा टोली बनाइदिएर भीरमा कुलो खन्ने कार्य फेरि सुरु गरे । २०५३ सालदेखि खन्न थालिएको कुलो २०६२ सालमा मात्रै सकियो । १० वर्षमा एक लाख ७ हजार श्रमिकले पूर्ण श्रमदानमा कुलो खनेको तथ्यांक उनीहरुसँग छ । वीरबहादुरका अनुसार १० वर्षमा झन्डै ५ करोड तीन लाख ६ हजार रुपैयाँ बराबरको श्रमदान भएको थियो । 

खन्याल समुदायले बीचैमा काम रोक्दा सिँचाइ अभावमा मार्सी फाँट सुकिरहेका थिए । खेत सुकेको देखेपछि भीर फोडेर कुलो बनाउने सोच बनाएको वीरबहादुर बताउँछन् । तर उनको त्यो चाहनाले मात्र सम्भव थिएन । किनकि यो कुलो खन्न खन्यालहरूले पनि सकेका थिएनन् । झन्डै आधा किलोमिटर भीरमा कुलो बनाउन नसक्दा सापुल्ली जिउलो र रावतबाडा जिउलोमा धान रोप्न छाडिएको थियो । 

उतिबेला वीरबहादुरका लागि भीर फोडेर कुलो खन्ने काम कम चुनौतीको थिएन । औजार उपकरण थिएनन् । भीर फुटाल्ने जनशक्ति पनि कमै थियो । तर पनि ४६ जनाले उनलाई निरन्तर कुलो खन्ने काममा साथ दिए । 

काम नि:शुल्क रुपमा गरिएको थियो । साधनस्रोतको अभाव थियो तर पनि कुलो खन्ने कार्यले पूर्णता पायो । भीरमा डोरीमा शरीर बाँधेर कुलो खनेको स्थानीयले बिर्सेका छैनन् । ‘अहिले रुपैयाँबिनाको बजेट सम्भव नै छैन । तर उतिबेला नि:शुल्क भीर फोडेर खेतमा कुलो बनाउन हामीले सक्यौं,' वीरबहादुर भन्छन्, 'ती कुला अहिलेका पक्की कुलाभन्दा बलियो र वातावरणमैत्री छन् ।’

10 years of labor for Bhir blast, the names of the workers were placed on the copper plate

बीचमा रावतबाडाका मोतीलालनाथ योगी लगायतले कुलोको केही काम गरे र तर नाभीडाँडाको भीर खन्न सकेनन् । किनकि यो भीरको बीचबाट कुलो खन्नु भनेको मृत्यु निम्त्याउनु जस्तै थियो । 'भीर खन्ने औजार उपकरण थिएनन् । कडा चट्टान पन्छाउन  निकै गाह्रो थियो,' वीरबहादुर सम्झिन्छन्, 'पछि भीरमा डोरीले शरीर बाँधेर झुन्डिएर कुलो खन्ने काम भएको थियो । निकै जोखिम थियो । कुलो खन्न जानेका परिवार बेलुकी घर नफर्किंदासम्म चिन्तित नै हुनु परेको थियो ।’

सुरुमा भीरमा काठको पनालो बनाएर राखिएको थियो । केही दिनसम्म त्यसबाटै सिँचाइ सञ्चालन गरियो । अहिले भीरमा खनेको कुलोबाटै किसानले सिँचाइ सुविधा पाएका छन् । त्यही कुलोबाट चौबिसै घण्टा पानी बगिरहेको देख्दा वीरबहादुर आनन्दको स्वास फेर्छन् । 

कुलो खन्ने क्रममा वीरबहादुरले छोरालाई झन्डै गुमाउनुपरेको थियो । छोरा धीरबहादुर कुलोखन्दा भीरबाट खसेका थिए । 'हामीले जिउज्यान बाजी राखेर कुलो खन्यौं । अहिले जिउलाहरूमा लहलह धान झुलिरहेका छन् । यो भन्दा खुसी के हुन सक्छ र ?’ वीरबहादुर सफलताको कथा सुनाउँछन् ।

अहिले यो कुलोको नाम बुङ्गार नाभीडाँडा र झारखेत सिँचाइ कुलो रहेको छ । झन्डै चार सय किसान यो कुलोबाट लाभान्वित छन् । तिला गाउँपालिका–४, सापुल्ली, रावतबाडा र नुवाकोटगाउँका मार्सी धान फल्ने भण्डारी जिउला, सिमखेत, बुङ्गार र झार खेतका चार जिउलामा सिँचाइ सुविधा पुगेको छ । कुलो खन्न बीरबहादुरलाई रावतबाडाका खम्मानाथ योगीले पनि साथ दिएका थिए । 

श्रमिकका नाम ताम्रपत्रमा

अहिलेका विकास आयोजनामा बजेटको पारदर्शिता देखाउन होर्डिङ बोर्ड राख्ने परम्परा बसेको छ । तर ताम्रपत्र लेखेर आयोजना स्थलमा बोर्ड राख्ने चलन छैन । यसपटक तिला गाउँपालिकाले कुलो बनाउन सहभागी सबै ४६ जनाको नाम ताम्रापत्रमा लेखेको छ ।

10 years of labor for Bhir blast, the names of the workers were placed on the copper plate

'गाउँपालिकाले नयाँ इतिहास निर्माण गरेको छ, कामदारको पनि सम्मान भयो, कामको पनि मूल्यांकन,' तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले भनिन्, 'यो कार्यक्रम श्रम र श्रमिकको सम्मानमा गरिएको हो ।' उनले नि:शुल्क रुपमा काम गरेर कुलो बनाउने व्यक्तिको नाममा बनेको ताम्रापत्र असार ३० मा अनावरण गरिन् । कार्यक्रममा श्रमकर्ता र उनीहरुका परिवारलाई एकै थलोमा बोलाएर ढाका टोपी लगाइदिएर सम्मान पनि गरिएको थियो । 

गत वर्ष असोज १६ गते बसेको कार्यपालिका बैठकले नै उनीहरुको नाममा ताम्रापत्र राख्ने निर्णय गरेको थियो । ताम्रापत्र गत मंसिर महिनामा नै तयार भए पनि असारमा राखिएको हो ।  'अहिलेको विकास बजेटबिना अघि बढ्न सकेको छैन । अग्रजले नि:शुल्क श्रमदान गरेर अमूल्य कामको इतिहास बनाए,' उपाध्यक्ष बुढाले भनिन्, ‘ यो जनशक्तिले गरेको कामबाट अहिलेको पुस्ताले सिक्नुपर्ने बेला आएको छ ।’

10 years of labor for Bhir blast, the names of the workers were placed on the copper plate

सिँचाइ कुलो निर्माणमा सहभागी अधिकांश कामदारको मृत्यु भइसकेको छ । तर पनि राम्रो काम गरेबापत ताम्रापत्रमा नाम लेखिएकामा आफन्तहरु खुसी छन् । 

अहिलेको पुस्ताले श्रमको उचित मूल्य बुझ्न नसकेको स्थानीयले बताए । पालिकाले बजेट अभावमा विकास भएन भनेर नपन्छिन समेत उनीहरुले आग्रह गरेका छन् । 'श्रमदान गर्ने संस्कारको थालनी गरौं । पुर्खाहरुले गरेको कामबाट केही पाठ सिकौं, तिलाको समृद्धि यसैमा छ,' वीरबहादुरले भने । 

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully