१० वर्षसम्म गरिएको श्रमदानमा १२ लाख ७ हजार श्रमिक सहभागी थिए, यही कुलोबाट अहिले झन्डै ४ सय किसानले सिँचाइ सुविधा पाइरहेका छन्
जुम्ला — जुम्लाको तिला गाउँपालिका-४ सापुल्ली गाउँका वीरबहादुर सिंह उमेरले ७५ पुगे । जोसजाँगर भने तन्नेरीको जस्तै छ । समाजका कुनै सामूहिक काम गर्नुपर्दा उनी अग्रसर भइहाल्छन् । हरेकजसो विकास निर्माणका कार्यमा चासो राख्ने उनी सरकारी बजेटको भरमा भन्दा पनि श्रमदानमा बढी विश्वास गर्छन् ।
तत्कालीन कुडारी गाउँविकास समितिमा १९६२ सालदेखि सुरु भएको 'भण्डारी-बुङ्गार-झारखेत सिँचाइ कुलो' उनकै नेतृत्वमा सम्भव भयो । त्यो कुलो १९६२ सालमा दाङबाट आएका खन्याल समुदायले खनेका थिए । उनीहरुले बुङ्गारको भीरसम्म कुलो खने । कडा चट्टाने भीर भएकाले त्यसपछि उनीहरुले सकेनन् । त्यो कुलोको काम झन्डै एक सय वर्ष रोकियो ।
नजिकैबाट बडेमानको भेरीखोला बगिरहेको हुन्थ्यो । आसपासका खेत पानी नपाएर सुकिरहेका हुन्थे । यो देख्दा वीरबहादुरको मन कटक्क खाइन्थ्यो ।
२०५० सालतिरको कुरा हो । तत्कालीन गाविस अध्यक्षमा चक्रबहादुर शाही चुनिए । उनले वीरबहादुरको नेतृत्वमा टोली बनाइदिएर भीरमा कुलो खन्ने कार्य फेरि सुरु गरे । २०५३ सालदेखि खन्न थालिएको कुलो २०६२ सालमा मात्रै सकियो । १० वर्षमा एक लाख ७ हजार श्रमिकले पूर्ण श्रमदानमा कुलो खनेको तथ्यांक उनीहरुसँग छ । वीरबहादुरका अनुसार १० वर्षमा झन्डै ५ करोड तीन लाख ६ हजार रुपैयाँ बराबरको श्रमदान भएको थियो ।
खन्याल समुदायले बीचैमा काम रोक्दा सिँचाइ अभावमा मार्सी फाँट सुकिरहेका थिए । खेत सुकेको देखेपछि भीर फोडेर कुलो बनाउने सोच बनाएको वीरबहादुर बताउँछन् । तर उनको त्यो चाहनाले मात्र सम्भव थिएन । किनकि यो कुलो खन्न खन्यालहरूले पनि सकेका थिएनन् । झन्डै आधा किलोमिटर भीरमा कुलो बनाउन नसक्दा सापुल्ली जिउलो र रावतबाडा जिउलोमा धान रोप्न छाडिएको थियो ।
उतिबेला वीरबहादुरका लागि भीर फोडेर कुलो खन्ने काम कम चुनौतीको थिएन । औजार उपकरण थिएनन् । भीर फुटाल्ने जनशक्ति पनि कमै थियो । तर पनि ४६ जनाले उनलाई निरन्तर कुलो खन्ने काममा साथ दिए ।
काम नि:शुल्क रुपमा गरिएको थियो । साधनस्रोतको अभाव थियो तर पनि कुलो खन्ने कार्यले पूर्णता पायो । भीरमा डोरीमा शरीर बाँधेर कुलो खनेको स्थानीयले बिर्सेका छैनन् । ‘अहिले रुपैयाँबिनाको बजेट सम्भव नै छैन । तर उतिबेला नि:शुल्क भीर फोडेर खेतमा कुलो बनाउन हामीले सक्यौं,' वीरबहादुर भन्छन्, 'ती कुला अहिलेका पक्की कुलाभन्दा बलियो र वातावरणमैत्री छन् ।’
बीचमा रावतबाडाका मोतीलालनाथ योगी लगायतले कुलोको केही काम गरे र तर नाभीडाँडाको भीर खन्न सकेनन् । किनकि यो भीरको बीचबाट कुलो खन्नु भनेको मृत्यु निम्त्याउनु जस्तै थियो । 'भीर खन्ने औजार उपकरण थिएनन् । कडा चट्टान पन्छाउन निकै गाह्रो थियो,' वीरबहादुर सम्झिन्छन्, 'पछि भीरमा डोरीले शरीर बाँधेर झुन्डिएर कुलो खन्ने काम भएको थियो । निकै जोखिम थियो । कुलो खन्न जानेका परिवार बेलुकी घर नफर्किंदासम्म चिन्तित नै हुनु परेको थियो ।’
सुरुमा भीरमा काठको पनालो बनाएर राखिएको थियो । केही दिनसम्म त्यसबाटै सिँचाइ सञ्चालन गरियो । अहिले भीरमा खनेको कुलोबाटै किसानले सिँचाइ सुविधा पाएका छन् । त्यही कुलोबाट चौबिसै घण्टा पानी बगिरहेको देख्दा वीरबहादुर आनन्दको स्वास फेर्छन् ।
कुलो खन्ने क्रममा वीरबहादुरले छोरालाई झन्डै गुमाउनुपरेको थियो । छोरा धीरबहादुर कुलोखन्दा भीरबाट खसेका थिए । 'हामीले जिउज्यान बाजी राखेर कुलो खन्यौं । अहिले जिउलाहरूमा लहलह धान झुलिरहेका छन् । यो भन्दा खुसी के हुन सक्छ र ?’ वीरबहादुर सफलताको कथा सुनाउँछन् ।
अहिले यो कुलोको नाम बुङ्गार नाभीडाँडा र झारखेत सिँचाइ कुलो रहेको छ । झन्डै चार सय किसान यो कुलोबाट लाभान्वित छन् । तिला गाउँपालिका–४, सापुल्ली, रावतबाडा र नुवाकोटगाउँका मार्सी धान फल्ने भण्डारी जिउला, सिमखेत, बुङ्गार र झार खेतका चार जिउलामा सिँचाइ सुविधा पुगेको छ । कुलो खन्न बीरबहादुरलाई रावतबाडाका खम्मानाथ योगीले पनि साथ दिएका थिए ।
श्रमिकका नाम ताम्रपत्रमा
अहिलेका विकास आयोजनामा बजेटको पारदर्शिता देखाउन होर्डिङ बोर्ड राख्ने परम्परा बसेको छ । तर ताम्रपत्र लेखेर आयोजना स्थलमा बोर्ड राख्ने चलन छैन । यसपटक तिला गाउँपालिकाले कुलो बनाउन सहभागी सबै ४६ जनाको नाम ताम्रापत्रमा लेखेको छ ।
'गाउँपालिकाले नयाँ इतिहास निर्माण गरेको छ, कामदारको पनि सम्मान भयो, कामको पनि मूल्यांकन,' तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले भनिन्, 'यो कार्यक्रम श्रम र श्रमिकको सम्मानमा गरिएको हो ।' उनले नि:शुल्क रुपमा काम गरेर कुलो बनाउने व्यक्तिको नाममा बनेको ताम्रापत्र असार ३० मा अनावरण गरिन् । कार्यक्रममा श्रमकर्ता र उनीहरुका परिवारलाई एकै थलोमा बोलाएर ढाका टोपी लगाइदिएर सम्मान पनि गरिएको थियो ।
गत वर्ष असोज १६ गते बसेको कार्यपालिका बैठकले नै उनीहरुको नाममा ताम्रापत्र राख्ने निर्णय गरेको थियो । ताम्रापत्र गत मंसिर महिनामा नै तयार भए पनि असारमा राखिएको हो । 'अहिलेको विकास बजेटबिना अघि बढ्न सकेको छैन । अग्रजले नि:शुल्क श्रमदान गरेर अमूल्य कामको इतिहास बनाए,' उपाध्यक्ष बुढाले भनिन्, ‘ यो जनशक्तिले गरेको कामबाट अहिलेको पुस्ताले सिक्नुपर्ने बेला आएको छ ।’
सिँचाइ कुलो निर्माणमा सहभागी अधिकांश कामदारको मृत्यु भइसकेको छ । तर पनि राम्रो काम गरेबापत ताम्रापत्रमा नाम लेखिएकामा आफन्तहरु खुसी छन् ।
अहिलेको पुस्ताले श्रमको उचित मूल्य बुझ्न नसकेको स्थानीयले बताए । पालिकाले बजेट अभावमा विकास भएन भनेर नपन्छिन समेत उनीहरुले आग्रह गरेका छन् । 'श्रमदान गर्ने संस्कारको थालनी गरौं । पुर्खाहरुले गरेको कामबाट केही पाठ सिकौं, तिलाको समृद्धि यसैमा छ,' वीरबहादुरले भने ।
