तीन जना कृषक पुरस्कृत

असार ३१, २०८२

तृप्ति शाही

Three farmers awarded

वीरेन्द्रनगर — सुर्खेतका तीन जना कृषकलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ । जिल्लाका उत्कृष्ट कृषकलाई मंगलबार पुरस्कृत गरिएको कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ ।

भेरीगंगा नगरपालिका–८ मा केरा खेती गरिरहेका विनोद शर्माले प्रथम पुरस्कार पाएका छन् । उनले ३० हजार नगदसहित सम्मान पत्र पाए । २५ हजार राशिको द्वितीय पुरस्कार वीरेन्द्रनगर नगरपालिका–१३ मा मेवा र ड्रागन खेती गरिरहेका ललितप्रसाद लामिछाने प्राप्त गरे । यस्तै भेरीगंगा नगरपालिका–१० की अञ्जना बुढालाई २० हजार राशिको तृतीय पुरस्कार प्रदान गरिएको छ । उनी तरकारी खेती तथा पशुपन्छी पालन व्यवसाय गरिरहेकी छन् ।

कृषकलाई सम्मान गर्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद शाहले धनराशि थोरै भए पनि प्रेरणा अनुकरणीय हुने भएकाले पुरस्कृत गरिएको बताए । यस्तो कार्यक्रमले अरूलाई पनि कृषिमा संलग्न हुने प्रेरणा जाग्ने विश्वास उनले गरे ।

‘खाद्य सबैका लागि आवश्यक भएकाले महत्त्वपूर्ण क्षेत्र कृषि हो,’ उनले भने, ‘जो यो क्षेत्रमा संलग्न भएर समर्पित भइ देश विकासमा टेवा पुर्‍याउँछ, त्यस्तो व्यक्तिलाई सम्मानित गर्न आवश्यक छ । कृषि क्षेत्रको योगदान राष्ट्रिय पुँजीमा धेरै छ । कृषिको व्यावसायीकरण गरे मात्र सबै किसानलाई जोड्न सकिन्छ ।’

कृषि क्षेत्रमा लागेर पुरस्कृत हुँदा हौसला बढेको पुरस्कृत कृषक विनोद शर्माले बताए । आगामी दिनमा अझै मिहिनेतमा साथ कृषि पेसामा लाग्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully