सत्तामा रहेका राजननीतिकर्मीबाटै असन्तुष्टि बाँड्ने काम भइरहेको : उपसभापति खड्का

असार ३१, २०८२

ज्योति कटुवाल

Dissatisfaction is being shared by politicians in power: Deputy Chairman Khadka

सुर्खेत — नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले दुई ठूला राजनीतिक दलहरु मिलेकाले तीनै तहका सरकार स्थिर भए पनि काममा केही गुनासाहरु रहेको बताएका छन् ।

उनले अहिले राजनीतिक स्थिरता भए पनि डेलिभरी भएन भन्ने गुनासाहरु रहेको बताउँदै सत्तामा रहेका राजननीतिकर्मीबाटै असन्तुष्टि बाँड्ने काम भइरहेको बताए । 

‘नेपाली कांग्रेस र नेकपा एमाले मिल्दा अहिले संघदेखि स्थानीय तहसम्मका सरकार स्थिर भएका छन्,’ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उपसभापति खड्काले भने, ‘चिया–चौतारीहरुमा बसेर असन्तुष्टि बाँड्ने काम भइरहेको छ ।’

उनले केन्द्रमा सात दिनसम्म चलेको बैठकले सर्वसम्मत निर्णय गरेको र उक्त बैठक उपस्थिति, प्रस्तुति र निर्णयका हिसाबले ऐतिहासिक रहेको उनको दाबी छ । उनले बैठकमा संघीय, प्रदेश र स्थानीय तहका सरकारले गरिरहेका कामहरुको समीक्षा भएको बताए ।

‘पार्टी विधानले केन्द्रीय अनुशासन समितिले गरेको निर्णय चित्त नबुझ्‌ने व्यक्तिहरुले केन्द्रीय सभापतिमार्फत केन्द्रीय कार्यसमितिमा पुनरावेदन गर्न पाउने व्यवस्था छ,’ उनले भने ।

उपसभापति खड्काले क्रियाशिल सदस्यता वितरण, नवीकरणलगायतका विषयमा विधानले नै जिल्लालाई अधिकार दिएको बताउँदै सदस्यता वितरण, नवीकरणलगायतका कामलाई तत्काल अघि बढाउन निर्देशन दिए । ‘यो संगठनको नियमित गर्नुपर्ने पहिलो कर्तव्य हो,’ उनले भने, ‘पार्टी सदस्यता वितरण र नवीकरणलाई निरन्तर अभियानका रुपमा अघि बढाउनुहोस् ।’

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully