१३ लाख नक्कली नोट र लागूऔषधसहित ५ जना पक्राउ

असार ३१, २०८२

तृप्ति शाही

5 people arrested with 1.3 million fake notes and drugs

वीरेन्द्रनगर — सुर्खेत प्रहरीले ३० किलो लागूऔषध र १३ लाख नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ गरेकाहरूलाई मंगलबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा सुर्खेतका प्रहरी प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले ३० किलो ६ सय ७२ ग्राम अफिम जस्तो देखिने २६ थान लागू औषध र १३ सय थान १३ लाख बराबरको नक्कली नेपाली नोटसहित नियन्त्रणमा लिइएको जानकारी दिए ।

पक्राउ पर्नेमा जाजरकोटको कुशे गाउँपालिक - ५ घर भइ वीरेन्द्रनगर नगरपालिका - १० शान्तिटोलमा बस्ने २२ वर्षीया दिलमाया सिंह ठकुरी, कुशे गाउँपालिका- ५ खुर्पाका ३३ वर्षीय रामबहादुर सिंह, कुशे गाउँपालिका- ७ गमौडी घर भइ सुर्खेतको भेरीगंगा नगरपालिका- १२ मा बस्ने ३५ वर्षीय कृष्णबहादुर वली, ३८ वर्षीय प्रेमबहादुर विक छन् ।

यस्तै कालिकोटको नरहरीनाथ गाउँपालिका- ४ घर भई बाँकेको कोहरपुर नगरपालिका- ११ न्यूरोडमा जनगर्जन नेटवर्क प्रालि मिडिया सञ्चालन गरी बस्ने ३४ वर्षीय मनबहादुर सहकारी छन् । उनीहरूलाई लागूऔषध (अफीम) मुद्रासम्बन्धी कसूर संगठित अपराध कसुरमा मुद्दा दायर गरेर अनुसन्धान गरिरहेको छ । 

सुर्खेत प्रहरी प्रमुख सुधिरराज शाहीले नक्कली नोट, अफिमसहित नक्कली नोट बनाउने क्यानोन प्रिन्टर १ थान, सिपियू १ थान, मोनिटर, क्यामरालगायतका सामग्री पनि मनबहादुरको मिडिया हाउसबाट नियन्त्रणमा लिइएको बताए । 

दिलमायाले खोटा मुद्रा चलाउने गरेको सूचनाका आधारमा प्रहरी उनीकहाँ पुगेको थियो । उनको साथबाट ६ हजार नक्कली नोट भेटिएपछि अरूलाई नियन्त्रणमा लिइएको हो । मनबहादुरले २ लाख बजारमा नक्कली रूपैयाँ पठाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully