सल्यान — लिफ्ट खानेपानी योजना सम्पन्न भएर घरघरमा धारा जडान तीन महिना नबित्दै शारदा नगरपालिका-१३ का स्थानीय पुन: खानेपानीका लागि मुहान धाउन बाध्य भएका छन् ।
असार ६ गते राति वर्षासँगै परेको चटयाङले लिफ्ट खानेपानी योजनाको मिटर युनिट, ट्रान्समिटर लगायतका सामग्रीमा क्षति पुर्याएपछि स्यानीखाल, चलाउनेपानी, लेखटाकुरा, बाग्मारे, सल्यानचौर, अत्तरकाडा, साजखर्क, जोगीचौरका स्थानीय समस्यामा परेका हुन् ।
विगतदेखि खानेपानीको समस्या भएको र लामो समय हिँडेर मुहान धाउनुपर्ने बाध्यता भएका कारण २०७९/०८० मा खानेपानी तथा ऊर्जा विकास कार्यालय सल्यानले झन्डै ६ करोड बजेटमा वडाका ४ सय ९५ घर परिवारका लागि लिफ्ट खानेपानी योजना सञ्चालन गरेको थियो ।
घरघमै पानी आएपछि खुसी भएका स्थानीयमा अहिले निराशा छाएको छ । चटयाङले क्षति भएको सामग्री अहिलेसम्म मर्मतको काम हुन नसकेपछि आधा घण्टादेखि एक घण्टासम्म हिँडनुपर्दा स्थानीय महिलालाई सास्ती भएको लेखटाकुराकी ४२ वर्षीया कमला बुढा मगरले बताइन् ।
चट्याङका कारण खानेपानी आपूर्ति असार ७ देखि बन्द भएको खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष तुलसीराम रावतले बताए । एउटा मेसिन समूहले पैसा उठाएर किनिसकेको र अन्य निर्माण कम्पनीले किन्ने तयारी गरेको उनले जानकारी गराए ।
वडाध्यक्ष जंगबहादुर बुढाले बिग्रेको मेसिन तत्काल बनाउन सम्बन्धित कार्यालय तथा निर्माण कम्पनीलाई ताकेता गरेको बताए ।
