वीरेन्द्रनगर — चालु आर्थिक वर्षमा पनि कर्णाली प्रदेश सरकारले लक्ष्य अनुसारको बजेट कार्यान्वयन गर्न असफल भएको छ । ८० प्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्य राखेको सरकारले ६४.८२ प्रतिशत मात्र खर्ज गरेको छ । जसमा पुँजीगततर्फ ५८.६३ र चालुतर्फ ७५.५२ प्रतिशत खर्च भएको छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालयलका अनुसार सरकारले २० अर्ब ३५ करोड ९५ लाख ८९ हजार ७ सय ९७ रुपैयाँ मात्र खर्च गर्न सकेको छ । चालु आर्थिक वर्षको लागि कर्णाली सरकारले ३१ अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको थियो । सरकारले असार महिनामा मात्र ७ अर्ब ४२ करोड रुपैँया खर्च गरेको छ । २५ दिनमा यो रकम खर्च गरिएको हो । जेठको अन्तिमसम्म १२ अर्ब ८८ करोड बजेट खर्च गरेको थियो ।
आर्थिक वर्ष २०८०/०८१ मा कर्णाली सरकारले ६०.३४ प्रतिशत रकम खर्च गरेको थियो । सरकारले यो आिर्थक वर्षको लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैँया विनियोजित गरेको थियो । कुल बजेटको खर्च हेर्नेहो भने यो वर्ष गत वर्षभन्दा थोरै मात्र बढि हो ।
प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयले ७९.७२ प्रतिशत बजेट खर्च गरेको छ । ९६.२९ प्रतिशत पुँजिगत खर्च गरेको छ भने चालुतर्फ ७८.२६ प्रतिशत खर्च छ । जलस्रोत तथा उर्जा मन्त्रालयले ७९.५४ प्रतिशत बजेट खर्च गरेको हो । जसमा पुँजिगततर्फ ८०.७५ र चालुतर्फ चालुतर्फ ६७.३६ प्रतिशत छ ।
यस्तै भौतिक तथा पूर्वाधार विकास मन्त्रालयले ५७.५१ प्रतिशत रकम मात्र खर्च गरेकोमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ५६.६७ प्रतिशत रकम खर्च गरेको छ । आन्तरिक तथा कानुन मन्त्रालयले ७०.०५ , उद्योग , पर्यटन वन तथा वातावरण मन्त्रालयले ७२.६४ , भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालयले ६९.२७ प्रतिशत र सामाजिक विकास मन्त्रालयले ७१.७१ प्रतिशत रकम खर्च गरेको छ ।
