मदन भण्डारी राजमार्ग : सल्यानको कालिमाटीमा २४ किलोमिटर सडक ९ वर्षमा कालोपत्र

असार २८, २०८२

विप्लव महर्जन

Madan Bhandari Highway: 24 km road in Kalimati of Salyan black paper in 9 years

सल्यान — मदन भण्डारी राजमार्गअन्तर्गत तुलसीपुर–सल्यान कालिमाटी–सुर्खेत सडकको सल्यान कालीमाटी क्षेत्रको २४ किलोमिटर सडक कालोपत्र ९ वर्षमा बल्ल सम्पन्न भएको छ । ठेकदारले लापरबाही गर्दा कालोपत्रको काममा ढिलाइ भएको हो ।  

राजमार्गअन्तर्गत सल्यान र दाङको सिमाना एक्लेबरदेखि सुर्खेतको सिमाना काल्चेडाँडासम्म २४ किलोमिटर कालोपत्र गर्न सडक डिभिजन कार्यालय दाङले २०७३ मा ४० करोड बजेट विनियोजन गरेको थियो । २०७३ मा टेन्डर आह्वान गरेपछि उक्त योजना कालिका प्यासिफिक जेभी कन्ट्रक्सनले पाएको थियो । कालोपत्रका लागि डिभिजन कार्यालय दाङले तीन वर्षको अवधि तोकेको थियो । निर्माण कम्पनीले २०७४ असार २० गते देखि मात्र काम सुरु गरेको थियो ।

निर्माण कम्पनीले तोकेको समयमा कालोपत्रको काम सम्पन्न गर्न नसकेपछि सडक डिभिजन कार्यालय दाङले लगातार चार पटक म्याद थप गरेको थियो । गत वर्षसम्म कालिमाटी गाउँपालिका-४ काल्चेडाँडा आसपासमा बर्सातको समयमा पहिरो जाँदा यातायात अवरुद्ध हुने र यात्रुले हिँडेर आउजाउ गर्नुपर्ने बाध्यता रहेकामा ढिलै भए पनि निर्माण कम्पनीले सडक कालोपत्रको काम सम्पन्न गरेपछि अहिले गाडी नियमित सञ्चालनमा आएका छन् ।

अहिले नियमित गाडी चल्दा बिरामीलाई उपचारका लागि सुर्खेत तथा दाङको तुलसीपुर लग्न सहज भएको काल्चेका स्थानीय ननीन रावतले बताए । निर्माण कम्पनीले कालोपत्रको काम गर्न ढिलाइ गरेकाले केही स्थानमा भने कालोपत्र उप्किसकेका उनको भनाइ छ । 

सडक छेउमा सुरक्षाका लागि सिमेन्टको पिलर गाड्ने काम अहिले पनि गरिरहेको काल्चेका स्थानीय नेता पुरुषोत्तम भट्टराईले बताए । 

ठेकेदारले विभिन्न बहाना बनाउँदै काम नगरी छाडेकाले कालोपत्रेको काममा ढिलाइ भएको सडक डिभिजन कार्यालय दाङका इन्जिनियर नारायण दाहालको भनाइ छ । ठेकदारले २०७३/०७४ देखि २०७६/०७७ मा सम्पन्न गर्नुपर्नेमा ६० प्रतिशतभन्दा बढी सम्पन्न गर्न नसकेको र बीचैमा ठेक्का तोड्न पनि गाह्रो हुने भएकाले २०७७ देखि लगातार चार पटक म्याद थप गर्नुपरेको उनले बताए । 

कालिका प्यासिफिक जेभी निर्माण कम्पनीका इन्जिनियर सन्तोष घिमिरे भने व्यवस्थापनमा भएको लापरबाहीकै कारण तोकेको समयमा काम सम्पन्न गर्न नसकेको बताउँछन् । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully