वीरेन्द्रनगर — सुर्खेतको वीरेन्द्रनगर बजारमा पहिलो पटक ट्राफिक बत्ती सञ्चालनमा ल्याइएको छ। वीरेन्द्रचोकमा चोकमा जोडिएको ट्राफिक बत्तीलाई सञ्चालनमा ल्याइएको छ ।
सवारी चाप र दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले जडान गरिएका बत्ती नगर प्रमुख मोहनमाया ढकालले जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारलाई हस्तान्तरण गरिन् । वीरेन्द्रचोकबाट सुरुवात गरिएको ट्राफिक बत्ती अन्य क्षेत्रमा पनि विस्तार गरिने नगर प्रमुख ढकालले जानकारी दिइन् ।
ट्राफिक लाइट सञ्चालनको जिम्मेवारी ट्राफिक कार्यालयलाई हस्तान्तरण उनले मुख्य सडकहरु व्यवस्थित हुने र पैदलयात्रीहरुको सुरक्षित र सहज बनाउन सहयोग पुग्ने बताइन् । यसले ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने प्रहरी निरीक्षक सुनारले बताए ।
यस्तै, सवारी चाप हुने अन्य चोकहरुमा पनि ट्राफिक बत्ती जडान गर्ने तयार नगरपालिकाले गरेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ मा स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत वीरेन्द्र चोकमा ट्राफिक बत्ती जडान गर्न नगरपालिकाले ३० लाख रूपैयाँ विनियोजन गरेको थियो ।
नगरप्रमुख ढकालले उपत्यकाका विभिन्न स्थानमा सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै झण्डै ३ सय बढी सीसी क्यामेरासमेत जडान गर्न लागिएको जानकारी गराइन् ।
नगरपालिकाले आगामी २०८३ असारसम्म यात्रु र सवारीको उच्च चाप हुने मंगलगढी चोकमा आकाशे पुल निर्माण सम्पन्न गर्नेगरी प्रक्रिया पनि अघि बढाएको छ । यसको लागि २ करोड बजेट व्यवस्थापन भइ ठेक्का प्रक्रिया अघि बढाइएको छ । शहरीकरण बढेसँगै वीरेन्द्रनगरलाई व्यवस्थित शहर बनाउन लागिएको नगरप्रमुख ढकालले बताइन् ।
