जुम्ला — जुम्ला पातारासी गाउँपालिका-३ स्थित लासी बजारमा एक लाख २८ हजार दुई सय रुपैयाँ नगदसहित १० जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक असिम हमालका अनुसार होटल ओम हिमाका सञ्चालक उर्मिला बुढासहित ९ जना जुवाडे पक्राउ परेका हुन् ।
जुवातास खेलिरहेका छन् भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय जुम्लादेखि गएको प्रहरी निरीक्षक असिम हमाल नेतृत्वको १० जनाको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
जुम्ला सदरमुकाम खलंगादेखि झण्डै १५ किलोमिटर पूर्वमा पर्ने लासीबजारमा उर्मिला बुढाले सञ्चालन गरेको ओम हिमा होटलमा प्रहरीले छापा हानेको थियो । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार पातारासी-४ बस्ने राम बुढा, पातारासी-५ बस्ने धनबहादुर बुढा, श्यामबहादुर रेउले, कर्ण बुढा, नैन बुढा, गोविन्द बुढा, पातारासी-६ बस्ने पूर्णसिंह महतारा, गोरख बुढा, ७ बस्ने अनिल खड्कालाई प्रहरी नियन्त्रणमा लिइएको हो ।
पछिल्लो समयमा जिल्ला प्रहरी कार्यालय जुम्लाले जुवातास, लागूऔषध नियन्त्रण गर्न अभियान नै चलाइरहेको छ । जुवातास खेल्दा धन सम्पत्तिको सत्यनाश हुने भन्दै बस्ती स्तरमा सचेतना फैलाइरहेको प्रहरीले पछिल्लो समयमा जुवातास खेलेको संकेत पाउनेबित्तिकै छापा हान्न सुरु गरेको हो ।
