पानी पर्‍यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरुले घर छोडेर जाउँ भन्छन्, जाने ठाउँ छैन

असार २५, २०८२

न्युज एजेन्सी नेपाल

If it rains, they don't sleep all night, the children say to leave the house, there is no place to go

कर्णाली — तीन वर्षअघिको बाढीले कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला मुगुको, सोरु गाउँपालिका वडा नम्बर ८, तारापानीकी स्थानीय चन्दा योगीको ५ कठ्ठा जग्गा बगाइदियो । अहिले पनि आकाशमा कालो बादल मडारिँदा मुटु हल्लिन्छ । पुरानो घटना सम्झिन्छिन्, ‘यस वर्षको मनसुन सुरु भइसक्यो । पानी पर्न थाल्यो । समस्या ज्यूँका त्यूँ छ ।’

राती पानी पर्‍यो भने आफूलाई लाग्ने डर त छँदै छ बच्चाहरुले ‘घर छोडेर जाम आमा’ भन्दा चन्दाको मुटु भक्कानिन्छ । घर छोडेर जाने सुरक्षित स्थान कतै छैन । पहाडको खोचबाट आएको बाढीले फराकिलो बनाएको रुम खोलो बस्ती नजिकै भएर बगेको छ । बस्तीको तलपट्टी मुगु कर्णाली गड्गडाएर झनै डरलाग्दो छ । 

तारापानीसँगै जोडिएको सीप गाउँको विजय आधारभूत विद्यालयको भवन जीर्ण छ । नजिकै अस्थायी प्रहरी पोस्ट छ । पोस्टको दुईतर्फ खोला छन् । अस्थायी प्रहरी पोस्ट पनि कतिखेर कटानमा पर्ने हो थाहा छैन । अगाडि मुगु कर्णाली सुसाइरहेको छ । सम्भावित जोखिम सम्झेर बोल्दाबोल्दै आँखा चिम्म गर्छिन् चन्दा, ‘राती ठूलो पानी पर्‍यो भने हामीलाई निन्द्रा आउँदैन । घरभित्र र घरबाहिर गरेर बस्छौँ । घर छोडेर जाउँ भनेर बच्चा कराईरहन्छन् । पानी पर्‍यो भने हामीलाई पनि डर लाग्छ । बच्चा त झनै डर मान्छन् । कता जाने ? सरकारी भवन जाउँ भने पनि त्यो पनि जोखिममा छ । प्रहरी चौकी पनि दोहोरो खोलाको जोखिममा छ ।  हामीलाई तटबन्ध गरेर सहयोग गरे हुन्थ्यो ।’

पहिरोले खेतबारी बगाएपछि स्थानीय गैह्रसरकारी संस्थाले गरेको सहयोगले प्रभावितको जीविकोपार्जनलाई सहयोग पुगेको छ । संस्थाले बाढी पहिरोले उबडखाबड भएको जमिन सम्याउन कृषि औजार दियो, विपद्मा उद्धारका सामग्री थियो । विपद्मा ज्यान जोगाउन सिकायो । सिँचाइको व्यवस्था गर्‍यो । अहिले तरकारी खेती गर्न सहज भएको छ ।

जीविकोपार्जन त सजिलो भयो तर जोखिम उस्तै छ । तटबन्ध बनाउन पाए ढुक्कसँग निदाउन सकिने थियो भन्ने लागेको छ चन्दा लाई । उनी भन्छिन्, ‘३ वर्षअघि आएको बाढीले ५ कठ्ठा जग्गासहित घर पनि बगाइदियो । जिएसएस संस्थाले कृषि औजार पनि दियो । कुलो बनाइदिएको छ । अहिले धान, गहुँ रोप्छौं । तरकारी खेती पनि गर्छौं । तरकारीको टनेल, बीउ दिनुहुन्छ । तालिम दिनुहुन्छ । अहिले एकदम सजिलो भएको छ । बाटोघाटो पहिरोले बन्द गर्‍यो भने समूह गएर मिलेर पहिरो पन्छाउने गर्छौं ।’

हरेक वर्षको मनसुनमा खोलाले धार परिवर्तन गरी बस्तीतर्फ सोझिएको छ । बसाई सर्ने विकल्प छैन । तटबन्ध छैन । राती पानी पर्‍यो भने तारापानी बासी निदाउन सक्दैनन् । तटबन्ध गर्न स्थानीयवासीले संघ, प्रदेश, पालिका, वडा सबैसँग हारगुहार गरे । तर कतैबाट सुनुवाइ भएको छैन । स्थानीय विजय रावल विपद्को तालिमसहित उद्धारका सामग्री पनि दिएको भए सहज हुने बताउँछन् । 

रावलले भने, ‘हिजो त्यत्रो पानी पर्‍यो । खोला नजिकको बस्ती भएकाले पानी पर्ने बित्तिकै हामी जोखिममा पर्छौं । तटबन्धका लागि गाउँपालिकासँग माग गर्‍यौं । संघ प्रदेशसँग पनि माग राख्यौं । तर कतैबाट सुनुवाइ भएन ।’

विक्रम सम्वत २०७९ भन्दा अघि तारापानी गाउँ हराभरा थियो । २०७९ असोज १८ गतेको बाढीले गाउँको हरियाली मात्रै नष्ट गरेन स्थानीयको सम्पत्तिमा ठूलो क्षति गर्‍यो । ६० घरधुरी रहेको तारापानीका ७ घर बाढीले पूर्णरुपमा ध्वस्त बने । बाढी प्रभावित तारागाउँ बासीले अहिलेसम्म राहतको नाममा सरकारबाट केही पाएका छैनन् । 

पीडितको तथ्यांक मिलेन भनेर स्थानीय सरकारले ३ वर्ष भइसक्दा पनि राहत वितरण प्रक्रिया अघि बढाएको छैन । स्थानीय जिएसएस संस्थाले तारापानी विपद् समूह गठन गरी विपद् प्रतिकार्यमा स्थानीयलाई जुटायो । खोलाको पानी डाईभर्सन गरेर सिँचाइ, पहिरो नियन्त्रणका लागि वृक्षारोपण, विपद् प्रतिरक्षाको तालिम, विपद् उद्धारका सामग्री लगायतमा स्थानीय गैह्रसरकारी संस्थाको सहयोग पाएपछि अहिले तारापानीबासी आफैं विपद् व्यवस्थापनमा जुटेका हुन् ।

स्थानीय मानबहादुर बुढा सरकारले भन्दा संस्थाले ठूलो सहयोग गरेको बताउँछन् । स्थानीयतहमा काम गर्दै आएको जिएसएस संस्थाले दिएको विपद् उद्धार सामग्रीलाई अस्थायी प्रहरी पोष्टको कार्यालयमा राखिएको छ । अस्थायी प्रहरी पोष्ट तारापानीका प्रहरी हवलदार चन्द्रबहादुर जिसी भन्छन्,–‘विपद्को समयमा समन्वय गर्न सजिलो होस् भनेर समूहले उद्धारका सामानहरु जिम्मा लगाउनुभएको छ त्रिपाल, लाईफ ज्याकेट, डोरी, बुट, रेनकोट लगायत विपद् उदारका सामानहरु संस्थाले हामीलाई जिम्मा लगाउनुभएको छ । यहाँ बाढीको जोखिम छ । विपद्को समयमा छिटो छरितो होस् भन्नका लागि हामीले तयारी अवस्थामा राखेका छौ । पानी पर्यो भने माथिबाट ढुंगा झर्ने, अनि अगाडि नै खोला भएकाले बाढीको पनि जोखिम छ । ’

सोरु गाउँपालिकाका अध्यक्ष धरमबहादुर शाही दुर्गम कर्णाली प्रदेशका हिमाली जिल्लाका गाउँपालिकाहरुमा पर्याप्त बजेट अभावका कारण जन चाहनाअनुसार विकास गर्न नसकिएको बताउँछन् । उनले दुर्गम क्षेत्रको विकास निर्माणको काममा गैह्रसरकारी संस्था र निजी क्षेत्रलाई आकर्षित गर्न केन्द्र सरकारले सहजीकरण गर्नुपर्ने बताए । 

उनले भने, ‘ म आफैं पनि स्थानीय सरकारको प्रमुख हो । तीनै तहको सरकारसँग मेरो अनुरोध छ, हामीले निजी क्षेत्र र संघसंस्थालाई सहजीकरण गरेर विकास निर्माणका कामहरुमा सहकार्य गर्नुपर्छ । नेपाल सरकारको बजेटले मात्रै पूर्वाधारका कामहरु गर्न नसक्ने भएकाले दुर्गम र पछाडि परेका क्षेत्रको भौतिक पूर्वाधार निर्माण लगायत विकासका कार्ययोजनाहरुमा संघसंस्थालाई संलग्न गराउनुपर्छ ।’

न्युज एजेन्सी नेपाल

Link copied successfully