कर्णाली करिडोरको फुगाड खोलामा पुल नहुँदा यात्रुलाई सास्ती

३ वर्षमा ४ जना स्थानीय बेपत्ता

असार २५, २०८२

तुलाराम पाण्डे

Due to the lack of a bridge over the Fugad River in the Karnali Corridor, passengers are suffering

कालिकोट — कर्णाली करिडोरअन्तर्गत कालिकोटको रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकाको सिमानामा पर्ने फुगाड खोलामा पुल नहुँदा यात्रुलाई सास्ती भएको छ ।

नेपाली सेनाले निर्माण गरेको फलामे बेलिब्रिज र पहिलेको झोलुङ्गे पुल ०७७ को असारमा आएको बाढीले बगाएपछि नयाँ पुल बनेको छैन। सुख्खा सिजनमा खोलाबाट गाडी र पैदल यात्री  आवतजावत गर्न कठिनाइ नभए पनि वर्षायाममा खोला तर्न कठिन छ । 

फुगाड खोला तर्न नसक्दा साना जिप र मोटरसाइकल मंगलबारदेखि नै पारिका पारि नै र वारिका वारि नै रोकिएका छन् । मिनी टाटा जीसीबी र ट्याक्टरले तानेर खोला पार गर्ने गरिएको छ  भने पैदल यात्रीलाई निकै सास्ती हुने गरेको पचालझरना-४ राम्नाकोटकी सुमित्रा बमले बताइन्।  'खोला बढेका बेला तर्नै सकिँदैन,' उनले गुनासो पोखिन्, 'पैदल यात्रुले खोला तर्नकै लागि ३ घण्टा उकालोओरालो गरेर फुकोट गाउँको झोलुङ्गे पुल तर्न जानु पर्छ।'

कर्णाली करिडोरको फुगाड खोलामा पुल नबन्दा गत वर्ष ३ मोटरसाइकल बगेको पलाता घर भएकी कांग्रेस नेतृ दिलु बमले सुनाइन्। यहीको खोलाले बगाउँदा ३ वर्षमा ४ जना स्थानीय बेपत्ता छन् । गाडी र पैदल यात्री दुवैलाई समस्या छ ।  

फुगाड खोला तर्न नसकेर आफू घर नगएर सदरमुकाम फर्किएको पचालझरना घर भएकी जिल्ला समन्वय समिति उपप्रमुख मीना रावत विकले गुनासो पोखिन्। 'वर्षाका बेला करिडोर नै बन्द हुन्छ,' उनले भनिन्, 'सरकारले हुम्ला गाडी पुग्यो भनेर प्रचार गरे पनि कालिकोटको फुगाड खोलामा सधैं सडक अवरुद्ध हुन्छ।'

कालिकोटको फुगाडसहित ९ वटा सडक पुलको ०७९ को असारमा ठेक्का भए पनि काम नै सुरु नभएको कर्णाली करिडोर सडक डिभिजन कार्यालय सिमिकोटका प्रमुख बेलबहादुर नेपालीले बताए। 'ठेक्का त भएको हो,' उनले भने, 'काम सुरु नै भएको छैन।' उनका अनुसार फुगाड खोलाको पुलको डिजाइन नै सडक विभागबाट स्वीकृत भएको छैन।

यसैबीच कर्णाली करिडोरको फुगाड खोलामा पुल नहुँदा नागरिकले सास्ती पाएको भन्दै कालिकोटका स्थानीयले बुधबार प्रजिअ नारायणप्रसाद भट्टराईको ध्यानाकर्षण गराएका छन्।

'फुगाड खोला तर्न तत्काल झोलुङ्गे पुल निर्माण गरिनु पर्छ,' नागरिक अगुवा राजु बोगटीले भने, 'खोला तर्न नसकेर ३/४ घण्टाको घुमाउरो बाटो हिँड्नु पर्छ।'

फुगाड खोलामा तत्काल यात्रुलाई आवतजावत गर्ने व्यवस्था मिलाउन आफूले सडक डिभिजन कार्यालय हुम्ला र बाजुराको पीलुचौरका प्रमुखलाई जानकारी गराएको सुनाउँदै प्रजिअ भट्टराईले सडक विभागका महानिर्देशकसँग कुरा गरेर निकास खोजिने प्रतिबद्धता पनि जनाए।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully