जुम्ला — जुम्लाको गुठिचौर गाउँपालिका–५ हाँक पाटनमा चट्याङ पर्दा १९७ भेडा मरेका छन्। सोमबार अपराह्न ४ बजे पाटनमा चरिरहेका भेडाको बथानमा चट्याङ पर्दा १९७ भेडा मरेका हुन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाले सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको टोली घटनास्थल पुगेर चट्याङले मरेका भेडाको गणना गरेको थियो।
चट्याङले घाइते भएका सिंजा–६ का धनबहादुर रावतलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ।
डीएसपी रबिनबाबु रेग्मीले घटनास्थल पुगेर टोली फर्किएको जानकारी दिएका छन्।
