जुम्लाको हाँका पाटनमा चट्याङ लागेर एक जना बेहोस, सयौं भेडा हताहती भएको आशंका

असार २३, २०८२

डीबी बुढा

It is suspected that one person fainted and hundreds of sheep were killed due to lightning in Haka Patan, Jumla.

जुम्ला — गुठिचौर गाउँपालिका–५ स्थित ठूलो हाँका पाटनमा चराइरहेको अवस्थामा दिउँसो ४ बजे भेडाको बथानमाथि चट्याङ पर्दा एक जना बेहोस भएका छन् भने तीन सयभन्दा धेरै भेडा हताहती भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

सिञ्जा गाउँपालिका–६ भाडगाउँका ५२ वर्षीय धनबहादुर रावत बेहोस अवस्थामा रहेको खबर प्राप्त भएको डिएसपी रबिनबाबु रेग्मीले जानकारी दिए । उनले भने, ‘गोठालाका रूपमा रहेका गोविन्द बुढाले फोन गरेर चट्याङ परेर ठूलो क्षति भएको खबर गरे । अहिले सशस्त्र प्रहरी, नेपाली प्रहरी र भेडापालक किसानका आफन्तहरूको टोली घटनास्थलमा जाने तयारी भइरहेको छ ।’

जुम्लाका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले चट्याङबाट सिकिस्त घाइते भएका रावतलाई उद्धार गर्न गृह मन्त्रालयमा हेलिकप्टरको व्यवस्था गर्न पहल भइरहेको बताए । चट्याङ परेको स्थान निकै टाढा भएको र मौसम प्रतिकूल हुनुका साथै राति परिसकेकोले हेलिकोप्टर आउने सम्भावना कम भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । सो पाटनमा ६ जना किसानका ९ सयभन्दा धेरै भेडा पालन भइरहेको थियो । 

तर तीन जना किसानका भेडा एक घण्टाको टाढा दुरीमा रहेको बताइएको छ । पाटनमा गोठाला भएका गोविन्द बुढाका अनुसार बेहोस अवस्थामा रहेका रावतको अवस्था गम्भीर छ । उक्त स्थान प्रहरी चौकीबाट झारज्वालबाट ७ घण्टा दक्षिण र जिल्ला प्रहरी कार्यालय जुम्लाबाट १० घण्टा पूर्व दक्षिण क्षेत्रमा पर्छ । डिएसपी रेग्मीले भने, ‘अहिले हेलिकोप्टरको सम्भावना कम भइसक्यो । सुरक्षाकर्मीको टोली परिचालनको तयारी भइरहेको छ ।’ 

'हेलिकोप्टर उडाउन सम्पर्क गरेको उडाउन सकिँदैन भन्यो । हुम्लादेखि आउने भएकोले फ्युल पनि नभएको देखियो,' प्रमुख जिल्ला अधिकारी शर्माले भने, ‘स्थलगत टोली खटिन थालेको छ । ’

टोली गुठिचौरसम्म गाडीमा जानेछ । त्यहाँदेखि पैदल जानेछ । प्रहरी टोली घटनास्थलमा पुगेपछि मात्र पूरा विवरण आउने छ । सिञ्जा गाउँपालिकाले चट्याङबाट घाइते भएका रावतको तत्काल उद्धार गर्न माग गरेको छ । 

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully