वीरेन्द्रनगर — सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-८ लाई बालमैत्री र वातावरणमैत्री वडा घोषणा गरिएको छ । वडाले बालमैत्री र वातावरणमैत्री घोषणाको मापदण्ड पूरा गरेपछि शनिबार एक कार्यक्रमकाबीच घोषणा गरिएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४, बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०७९ मा उल्लेखित ५१ सूचक र मापदण्ड पूरा गरेपछि वडालाई बालमैत्री घोषणा गरिएको हो ।
यस्तै, वातावरणसम्बन्धी तोकिएका सूचकहरू पूरा भएसँगै वडालाई वातावरण मैत्री स्थानीय शासनयुक्त वडा पनि घोषण गरिएको हो ।
वडा घोषणा गर्दै कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले स्थानीय तहले हरेक क्षेत्रलाई बालबालिका र वातावरणलाई पहिलो प्राथमिकतामा राखेर कार्यसम्पादन गर्नुपर्ने बताए । बालबालिकाको संरक्षण, विकास र सहभागिताको सुनिश्चितता गर्न स्थानीय, प्रदेश र संघ सरकारले जिम्मेवारी बोधका साथ काम गर्नुपर्ने बताए ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले एक वर्षभित्र सिङ्गो वीरेन्द्रनगरलाई नै बाल तथा वातावरणमैत्री पालिका बनाउने तयारी भएको जानकारी दिइन् ।
नगरपालिकाबाट तय हुने नीति र सञ्चालन हुने विकास निर्माणका काम बाल तथा वातावरणमैत्री अवधारणमा भइरहेको उनको भनाइ छ ।
