पहिरोले राप्ती राजमार्ग अवरुद्ध 

असार १६, २०८२

विप्लव महर्जन

Landslide blocked Rapti Highway

सल्यान — अविरल बर्सातपछि पहिरोका कारण राप्ती राजमार्ग सोमबार बेलुकी ६ बजेदेखि अवरुद्ध भएको छ । कपुरकोट गाउँपालिका–३ चोरखोला आसपासमा ठूलो पहिरो खसेपछि राप्ती राजमार्ग अवरुद्ध भएको हो । 

सडक अवरुद्ध भएपछि अहिले यात्रुवाहक सवारी साधन सडकमै रोकिएका छन् । वर्षात्‌का कारण वैकल्पिक मार्गमासमेत गाडी चल्न नसक्ने भएपछि यात्री थप समस्यामा परेका छन् । 

कपुरकोट गाउँपालिका–३ चोरखोलामा खसेको ठूलो पहिरोले गर्दा राप्ती राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए । रात परिसकेको र वर्षात् भइरहेकाले डोजर पहिरो हटाउन नसकेपछि फर्किएको उनले जानकारी दिए । 

‘पहिरो खस्ने क्रम नरोकिएको र रातिको समयमा काम गर्न कठिनाइ भएकाले मंगलबार बिहानदेखि मात्र पहिरो हटाउने काम हुनेछ,’ उनले भने ।

पहिरो हटाउन सम्भव नभएपछि सडक पूर्णरूपमा ठप्प हुँदा सडकमा अलपत्र परेका सवारी साधनलाई अन्य वैकल्पिक मार्ग प्रयोग गर्न उनले सल्लाह दिएका छन् । वर्षात् भइरहेको र पहिरो झरिरहेकाले उक्त क्षेत्रमा गाडी नरोकी सुरक्षित स्थानमा लगेर राख्न उनले गाडी व्यवसायीलाई आग्रह गरेका छन् । 

वर्षात् हुने बित्तिकै चोरखोला आसपासमा जाने पहिरोका कारण सल्यान, रोल्पा, रुकुम र दाङ्गबासीले गाडीमा सवार गर्दा विभिन्न किसिमका सास्ती भोग्दै आएका उनको भनाइ छ ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully