पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

असार १६, २०८२

तुलाराम पाण्डे

Landslide blocked Karnali highway

कालिकोट — कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक अन्तर्गत कालिकोटको गगने खोलामा पहिरो खस्दा सोमबार बिहानदेखि सडक अवरुद्ध भएको छ ।

आइतबार बेलुकीदेखिको वर्षाले गगने खोलामा गएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको कालीकोटका प्रहरी प्रमुख डिएसपी टेक बहादुर रावतले बताए । 

रातिदेखि अत्यधिक वर्षा भएकोले गगने खोलामा पहिरो खसेको छ । उनले भने, ‘गाडी चल्न सक्ने अवस्था छैन ।’ उनका अनुसार पहिरो पन्छाउन कर्णाली करिडोर सुरु हुने खुलालु जिरो पोइन्टमा खसेका ढुङ्गा पन्छाएर जेसीभी गगने खोलाको पहिरो हटाउन पठाइएको छ ।

पहिरो बगिरहेकोले काम गर्न पनि कठिन भएको प्रजिअ नारायण प्रसाद भट्टराईले बताए । ‘सडक डिभिजन जुम्लाले मेसिन पठाएको छ,’ उनले भने, ‘सानोतिनो पहिरो पन्छाउदै मेसिन ठूलो पहिरो गएको ठाउँमा पुगिसकेकाले पानी रोकिए दिउँसोसम्म एकतर्फी सडक सुचारु गर्न सकिएला ।’

Landslide blocked Karnali highway

सडक अवरुद्ध हुँदा कालिकोट, जुम्ला मुगु, बाजुरा, हुम्लाबाट सुर्खेत जाने र त्यताबाट माथितिर आउने गाडी रोकिएको प्रहरीले जनाएको छ । कर्णाली राजमार्ग वर्षा लागे पहिरोले अवरुद्ध हुने समस्याले सास्ती हुने गरेको मान्म बजारका उद्यमी बबुर शाहीले गुनासो पोखे ।

‘सडक गतिलो नहुँदा जहिल्यै दुःख पाइन्छ,’ उनले भने, ‘वर्खा लागे पहिरो र हिलो, हिउँद लागे धूलोले यात्रा गर्नै हैरान हुन्छ ।’ कूल २३३ किमी लम्बाई भएको कर्णाली राजमार्गको नाग्म–जुम्ला खण्डमा सडक राम्रो रहे पनि त्यसभन्दा तल कालिकोट र दैलेख खण्ड हिलाम्मे र धुलाम्मे हुने समस्या छ ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully