जुम्ला — जुम्लाको खलंगास्थित कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिरभित्र रहेको दानपेटिकाबाट रकम चोरी भएको छ । बिहीबार दिउँसो अज्ञात एक व्यक्ति छिरेर दानपेटिकामा रहेको रकम चोरी भएको सीसी टीभी फुटेजका देखिएको हो ।
चन्दननाथ भैरवनाथ गुठी समितिका कार्यालय प्रमुख रत्नचन्द्र आचार्यले मन्दिरभित्र छिरेर दानपेटिकाबाट भेटी चोरेर लगेको दृश्य सीसी टिभीले देखाएको बताए । उनले भने, ‘दानपेटिका रडले फोडेर रुपैयाँ चोरेको देखिएको छ । मन्दिरमा दिउँसै दानपेटिका स्थलमा प्रवेश गरेर चोरी हुनु दुःखद हो ।’
अज्ञात व्यक्तिले बिहीबार दिउँसो २ बजेर ४० मिनेटमा दानपेटिकामा रड प्रहार गरेर फोडेको फुटेज छ ।
मन्दिरमा भक्तजनले भेटीबापत चढाएको रकम संकलनका लागि दानपेटिका राखिएको छ । चोरी गर्ने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । प्रहरी नायब उपरीक्षक रबिनबाबु रेग्मीले मन्दिरमा दानपेटिकाको भेटी चोरिएको औपचारिक जानकारी आइनसकेको बताए । तर अनौपचारिक जानकारी भएबमोजिम मन्दिरको सुरक्षा व्यवस्था कडा पारीएको छ । मन्दिरको सुरक्षामा खटिएको प्रहरीलाई समेत मन्दिरमा प्रवेश गर्नेको उच्च निगरानी राख्न निर्देशन दिइएको छ ।
मन्दिरको सुरक्षाका लागि प्रहरी हवलदारको नेतृत्वमा ४ जना प्रहरी टोली जिल्ला प्रहरी कार्यालय जुम्लाले खटाएको छ । तर मन्दिरमा दिउँसै चोरी हुनु बिडम्बना बनेको स्थानीय बताउँछन् ।
सुरक्षाकर्मीलाई समेत छलेर मन्दिरमा प्रवेश गरी दानपेटिकाको रकम चोरेर लैजानु सुरक्षा चुनौती देखिएको गुठी समितिले जनाएको छ । २०७३ मंसिर ११ गते राति चन्दननाथ मन्दिरका मूर्तिसमेत चोरी भएका थिए । अहिलेसम्म तीन वटा मूर्ति भेटिएका छैनन् । भक्तजनले पछिल्लो समयमा भेटीस्वरुप एक हजार र पाँच सयका नोटसमेत दानपेटिकामा चढाइरहेका थिए ।
'ती नोट बाहिरैबाट देखिन्थे,' प्रमुख आचार्यले भने, ‘ती नोट छानेर लगिएको भेटिएको छ । चोर्ने व्यक्तिले मास्क लगाएको छैन । कपाल पालेको छ ।'
