कर्णाली सरकारद्वारा पत्रकारको बिमा

असार १४, २०८२

तृप्ति शाही

Journalist Insurance by Karnali Govt

वीरेन्द्रनगर — कर्णाली सरकारले पत्रकारहरुको बिमा गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कर्णाली प्रदेशमा कार्यरत पत्रकारहरुको बिमा गरेको हो ।

शुक्रबार एक कार्यक्रमकाबीच मन्त्रालयका निमित्त सचिव उत्तम गौतम, राष्ट्रिय बिमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत सुवास कोइराला र नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव खगेन्द्रप्रसाद भट्टराईबीच सम्झौता भएको छ ।

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको समन्वयमा कर्णालीका पत्रकारहरुको बिमा गरिएको मन्त्रालयका निमित्त सचिव गौतमले जानकारी दिए । मन्त्रालयले आर्थिक वर्ष २०८१/०८२ मा पत्रकार स्वास्थ्य बिमा कार्यक्रमको लागि १५ लाख रुपैयाँ विनियोजन गरेको थियो । 

यहिँ बजेटबाट पत्रकारहरुको स्वास्थ्य औषधोपचार बिमा कार्यक्रम मन्त्रालयले अघि सारेको हो । सम्झौतापछि आवश्यक प्रक्रिया अघि बढेको गौतमले बताए । उनका अनुसार बिमा अवधि १ वर्षसम्मको हुनेछ । बिमाको रकम प्रतिव्यक्ति ७० हजार कायम गरिएको छ ।

मन्त्रालयले कर्णाली प्रदेशको आमसञ्चार क्षेत्र पनि हेर्ने भएकोले यहाँ कार्यरत पत्रकारहरुको हकहित, व्यवसायिक क्षमता अभिवृद्धि गर्ने क्रममा पत्रकारहरुको स्वास्थ्य सुविधाको लागि कार्यक्रम कार्यान्वयनमा ल्याएको उनले जानकारी दिए । यो कार्यक्रमबाट ७ सय पत्रकारहरु लाभान्वित हुने अपेक्षा मन्त्रालयको छ ।

पत्रकारको उपचारमा सहयोग पुगोस् भन्ने उदेश्यले कर्णाली सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रममा पत्रकार महासंघ कर्णाली प्रदेश समितिले समन्वय गरेको प्रदेश समिति महासचिव भट्टराईले बताए । 

यो कार्यक्रममा कर्णालीका ६ सय ९३ पत्रकारहरु समेटिएको जानकारी उनले दिए । महासंघका सदस्य मात्र नभएर सक्रिय पत्रकारिता गरिरहेका पत्रकारहरुलाई बिमाको कार्यक्रममा समेटिएको छ । उनले भने , ‘दीर्घरोगी बोहक अरु जुनसुकै बिरामी भए पनि प्रदेशका पत्रकारहरुले सरकारी निकायमा दर्ता भएको जुनसुकै स्वास्थ्य संस्थामा उपचार गराएवाफत भुक्क्तानी पाउनेछन् । यसको लागि सक्कल बिल पेश गुर्नुपर्नेछ ।’

बिरामी भएको ६० दिन र डिस्चार्ज भएको ३५ दिनभित्र बिमा कम्पनीलाई जानकारी गराइसक्नुपर्नेछ । ओपिडीको लागि २० र स्वास्थ्यसंस्थामा भर्ना भएपछि ८० प्रतिशत रकम बिमाले समेट्ने छ । यसमा स्वास्थ्य परीक्षणदेखि औषधिहरु पनि समेटिने उनले बताए ।

त्रिपक्षीय समझदारीबाट अघि बढेको राष्ट्रिय बिमा कम्पनीकी बजार विभाग प्रमुख हिराकुमारी बर्तौलाले बताइन् । प्रतिव्यक्ति २ हजार बिमा शुल्क लिएर बिमा कार्यक्रममा सम्झौता गरिएको उनले बताइन् । सोधभर्ना बिमालेख अन्तर्गत गरिएको बिमामा खर्च भएको रकम बिलसहित आएर पत्रकारहरुले दाबी गर्नसक्ने जानकारी उनले दिइन् ।

पत्रकार महासंघको सिफारिसमा कम्पनीमा पेश भएपछि पत्रकारहरुले भुक्क्तानी पाउने प्रक्रिया रहेको उनले बताइन् ।

तृप्ति शाही शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully