जुम्ला — जुम्लाको हिमा गाउँपालिकामा तेस्रो पढाइ मेला सुरु भएको छ । पालिकाभित्रका विद्यालयको शैक्षिक अनुभव आदानप्रदान गर्ने र विद्यार्थीको सीप र प्रतिभाको उजागर गर्ने हेतुले पढाइ मेला सुरु गरिएको आयोजकले बताएका छन् हो । मेला दुई दिनसम्म चल्ने छ ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले पानसमा बत्ती बालेर पढाइ मेलाको उद्घाटन गरेका छन् । उनले हिमाले शिक्षा क्षेत्रमा सिर्जनात्मक र नयाँ कामको थालनी गरिरहेको बताए । 'शिक्षालाई व्यवहारिक सीपसँग जोडेर शिक्षक, अभिभावक र विद्यार्थीलाई जिम्मेवार बनाउने कार्यको शुभारम्भ भएको छ', प्रमुख आचार्यले भने, ‘आगामी दिनमा पनि यी कार्यहरुले निरन्तरता पाउने अपेक्षा छ ।’
दुर्गम क्षेत्रका विद्यालयमा शैक्षिक अवस्था खस्कदो रहेको सुन्नमा आएकोमा अब पढाइ मेलामार्फत दुर्गमका सामुदायिक विद्यालयहरु पनि गुणस्तरीय शिक्षा प्रदान गर्न अब्बल छन् भन्ने सन्देश पढाइ मेलाले फैलाइरहेको उनले बताए ।
यो पटक हिमा गाउँपालिका १ देयावर गाउँको विद्यालयमा पढाइ मेला भइरहेको हो । मेलामा विद्यालयबीचमा शैक्षिक अनुभव आदानप्रदान हुने छ । विद्यार्थीले बनाएका शैक्षिक सामग्रीहरुको प्रदर्शनीसमेत हुनेछ । गुणस्तरीय शिक्षा प्रदान गर्ने उत्कृष्ट विद्यालयले पुरस्कार पाउनेछ ।
मेलामा विद्यार्थीहरुको प्रतिभा, सिर्जना र सीपको उचित पहिचान हुनेछ । मेलामा पालिकाभित्रका २३ विद्यालयका विद्यार्थीहरु, शिक्षक र अभिभावकहरु भेला भएका छन् । 'मेलामा विद्यार्थीहरुले आफ्नो ज्ञान, सीप र प्रतिभाको उजागार गर्नेछन्', पालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले भने, ‘दबिएका प्रतिभाहरुको पहिचान गर्ने उपयुक्त थलोसमेत पढाइ मेला बनेको छ ।’
पछिल्लो समयमा सामुदायिक विद्यालयको पढाइप्रति टिकाटिप्पणीहरु धेरै भइरहेको अध्यक्ष शाहीले बताए ।भने, ‘सामुदायिक विद्यालयको अवस्था सुधारमा यो पढाइ मेला नमुना बन्नेछ ।’
मेलामा विद्यालयहरुले आ–आफ्ना विद्यार्थीले बनाएका शैक्षिक सामग्रीहरुको स्टल राखेका छन् । स्थानीय स्रोत साधनको प्रयोग गरी बनेका कृषि सामग्री, विद्यार्थीहरु आफैंले बनाएका सामग्री, कथा, कविता, निबन्ध, गीत, चित्रकला र हस्तकलाका सामग्री मेला प्रदर्शनमा राखिएका छन् ।
निजी विद्यालयप्रतिको आकर्षण घटाउन, सामुदायिक विद्यालयको शिक्षालाई व्यवहारिक र जीवन उपयोगी बनाउन पढाइ मेला आयोजना गरिएको आयोजकले बताएका छन् ।
