सल्यान — जिल्लाको बाग्चौर नगरपालिका-२ मा सञ्चालित लाटिगार–बाग्चौर लिफ्ट खानेपानी योजनाको काम गुणस्तरहीन भएपछि निर्माणमा रोक लगाइएको छ । उक्त लिफ्ट खानेपानी योजना बाग्चौर नगरपालिकाबाट विनियोजित ५ लाख बजेटमा लस्तम सप्लायर्स एण्ड कम्पनीले निर्माणको जिम्मा पाएको छ ।
पालिका उपप्रमुख सुम्निमा डिसी अनुगमनमा जाँदा खानेपानीको जिआई पाइप अडाउनका लागि निर्माण गरेको सिमेन्टेड पिलर फुसफुस माटो खस्ने र हातले धकेल्दा भत्किएपछि निर्माणमा रोक लगाइएको वडाध्यक्ष दिपेश डिसीले बताए । लाटिगार खोनेपानीको योजनामा पहिला जडान गरेको प्लास्टिकका पाइप वन डढेलोका कारण जलेपछि बाग्चौर नगरपालिकाले योजनामा जिआई पाइप तथा ईन्टेक निर्माण गर्न थालेको उनले जनाए ।
‘निर्माण कम्पनीले पाइपलाई मजबुत बनाउन ७/८ वटा पिलर निर्माण गरेका थिए । स्थानीय खोलाको बालुवा प्रयोग गरे पनि माटो मिसिएको र सिमेन्ट पनि कम हाल्दा पिलर नै ढलेपछि निर्माण गरेका केहीबाहेक सबै पिलर भत्काइएको छ,’ उनले भने ।
बाग्चौर-२ का स्थानीयलाई पानी खुवाउन सञ्चालन गरेको योजनाको काममा ठेकेदारले प्राविधिकलाई नबोलाई आफूखुसी गरेको र उपमेयर डिसीलगायतको टोली अनुगमनमा जाँदा निर्माण गरेको पिलर गुणस्तरहीन भएको देखिएको वडा कार्यालयका प्राविधिक सचिन पुनले बताए । ‘कोटेसनमा सञ्चालित काम जनताको आँखा छल्ने मात्र गर्न खोजेको देखियो । प्राविधिकलाई समेत बोलाएनन् निर्माण कम्पनीका ठेकेदारले,’ उनले भने ।
बाग्चौर बजारका स्थानीयलाई पानी खुवाउन तीनवटा मुहानबाट एउटै इन्टेकमा पानी झारी ल्याउन खोजिएकोमा ठेकेदारले पिलर निर्माणमा बदमासी गरेको उनको भनाइ छ ।
