काँक्रेविहार कर्णाली विकासको आर्थिक केन्द्र बन्न सक्छ : मुख्यमन्त्री कँडेल

असार १३, २०८२

ज्योति कटुवाल

Kankrevihar can become the economic center of Karnali development: Chief Minister Kandel

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको काँक्रेविहारलाई कर्णालीको आर्थिक विकासको केन्द्रको रूपमा विकास गर्न सकिने बताए ।

शुक्रबार वीरेन्द्रनगरमा आयोजित काँक्रेविहार खोज अनुसन्धान तथा पर्यटन महोत्सव एवम् युवा, बालबालिका तथा विद्यार्थी सम्मेलन-२०८२ लाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले काँक्रेविहारको महत्त्व बुझ्न र यसको सम्भावनालाई उपयोग गर्न सबै सरोकारवाला एकजुट हुनु पर्ने उल्लेख गरे । 

मुख्यमन्त्री कँडेलले भने, ‘काँक्रेविहारलाई लुम्बिनीसँग पर्यटकीय रूपमा जोड्न सके यो क्षेत्र विदेशी र आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्न सक्छ ।’

काँक्रेविहार धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण क्षेत्र हो, जसलाई प्रभावकारी ढङ्गले प्रचारप्रसार गर्न सके यसले समग्र कर्णाली प्रदेशको आर्थिक स्वरूप परिवर्तन गर्न सक्ने मुख्यमन्त्री कँडेलको भनाइ थियो । काँक्रेविहारलाई खुला चिडियाखानाका रूपमा विकास गर्न सकिने उल्लेख गर्दै त्यसले शिक्षा, पर्यटन र रोजगारीका क्षेत्रमा नयाँ सम्भावना खोल्ने मुख्यमन्त्री कँडेलले विश्वास व्यक्त गरे ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully